काठमाडौँ । विश्व स्वास्थ्य संगठन भन्छ, सन् २०१७ मा पाँच वर्षमुनिका १५ प्रतिशत बालबालिकाको मृत्युको कारण निमोनिया हुने गर्छ। आठ लाख आठ हजार छ सय बालबालिका र वयस्कसमेत २०१७ मा निमोनियाको घानमा परे।
नेपालमा वार्षिक निमोनियाका कारण कतिको ज्यान जान्छ, ठ्याक्कै तथ्याङ्क भेटिँदैन तर निमोनियाको संक्रमणले प्रभावित र मृत्यु हुनेको संख्या कम भने छैन। त्यसैले निमोनियालाई हेलचेक्र्याइँ गर्न नहुने चिकित्सकहरु सजग गराउँछन्।
विभिन्न किसिमका ब्याक्टेरिया तथा भाइरसको संक्रमणका कारण फोक्सोमा इन्फेक्सन भई निमोनिया हुने गर्छ। निमोनियामा फोक्सोका कोषिका सुन्निएर श्वासप्रश्वासमा समस्या उत्पन्न हुन्छ। अवस्था जटिल बन्दै गए ज्यानसमेत जानसक्ने वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरे सजग गराउँछन्।
जोखिमयुक्त समूह
बालबालिका, पाको उमेरका व्यक्ति तथा दीर्घरोगी निमोनियाको जोखिममा हुन्छन्। डा. गैरे भन्छन्, ‘साना बालबालिका, मृगौलाको समस्या भएका व्यक्ति, रक्त क्यान्सरग्रस्त व्यक्ति, दमको बिरामी, मुटुको रोग भएका बिरामीलाई पटक–पटक निमोनियाले आक्रमण गर्ने सम्भावना हुन्छ।’
गर्भवती त झन् सजग हुनुपर्छ। प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सभाना प्रधान शर्मा सामान्य व्यक्तिको तुलनामा गर्भवती महिलालाई निमोनियाको बढी जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन डा. शर्मा सुझाउँछिन्।
‘गर्भवती भएको अवस्थामा महिलाको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ,’ डा. शर्माले भनिन्, ‘गर्भको भ्रूण बढ्दै जाँदा आमाको फोक्सोको फैलावट केही साँघुरो भई श्वास–प्रश्वासमा बाधा पर्दा संक्रमणको बढी जोखिम हुन्छ।’ गर्भवती महिलामा निमोनियाको जटिलतासमेत छिटो बढ्छ। जथाभावी औषधी सेवन गर्दा आमा र गर्भको भ्रूणलाई जोखिम हुने भएकाले दक्ष चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने डा. शर्माको सुझाव छ।
विशेषगरी ७० वर्ष नाघेका व्यक्तिहरुमा मृत्युको प्रमुख कारणमध्ये निमोनिया एक हो। बालबालिका, पाको उमेर समूहका व्यक्ति र दीर्घरोगीमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएका मात्र होइन, एचआइभी संक्रमित रोगी, कुपोषणजस्ता समस्यामा परेका व्यक्तिमा निमोनियाको जोखिम हुन्छ। धूमपान, मद्यपान तथा लागु पदार्थ सेवन गर्ने व्यक्तिलाई निमोनियाले पनि उत्तिकै सताउने र जोखिम हुने फिजिसियन डा. देवराज घिमिरेले बताए। डा. घिमिरेले भने, ‘रक्सी पिएर सुत्दा पेट तथा मुखबाट निस्कने संक्रमणले निमोनिया हुनसक्छ।’
निमोनिया विरुद्धको खोप नलगाएका व्यक्तिमा बढी जोखिम हुन्छ। डा. घिमिरेले सानो उमेरमा निमोनिया भएका बालबालिकामा फोक्सोमा दाग देखिने भए पनि पुन नबल्झिने प्रस्ट पारे।
दुई कारण
निमोनिया हुने विभिन्न कारण हुन्छन्। निमोनिया हुने मूल कारणमा भाइरस, ब्याक्टेरिया तथा फंगी हो। स्टेप्टोफोकस निमोनिया, माइक्लोप्लाजा निमोनियाजस्ता भाइरसका कारण निमोनियाको खतरा हुन्छ।
प्रदुषण तथा फोहोरले ब्याक्टेरिया तथा भाइरसका कारण निमोनियाको जोखिम हुन्छ। बढी भिडभाडमा जाने, शारीरिक शक्ति कम हुने, बर्डफ्लु, स्वाइनफ्लुजस्ता सिजनल फ्लुका कारण फोक्सोमा संक्रमण भई निमोनिया हुन सक्ने चिकित्सक सजग गराउँछन्। यसरी अस्पतालबाहिर हुने निमोनियालाई चिकित्सकीय भाषामा ‘कम्युनिटी अक्वायर्ड निमोनिया’ भनिन्छ। वाह्य वातावरणबाट कुनै ब्याक्टेरियाका संक्रमण फोक्सोसम्म पुग्दा निमोनियाको जोखिम हुन्छ। शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १३ मंसिर २०७६, १९ : ३६
लेखकबाट थप