मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सहुलियत दिइने

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०८२, १४ : १८
मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सहुलियत दिइने

काठमाडौँ। अबदेखि मिर्गौलाका बिरामीलाई ८ लाख ५० हजारसम्म सरकारले स्वास्थ्य सेवामा सहुलियत गर्ने भएको छ । यसअघि विपन्न कार्यक्रम मार्फत सरकारले एक लाखको सुविधा दिँदै आएको थियो । कडा रोगका लागेका नागरिकलाई स्वास्थ्य उपचार गर्न आर्थिक सकस परेपछि सरकारले स्वास्थ्य बीमा मार्फत थप एक लाख दिने भएको हो ।

उक्त एक लाखको सहुलियत क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले पाउने भएका छन् । यसअघि स्वास्थ्य बीमामा आबद्ध भएकाले मानिसले नियमित एक लाखसम्मको सेवा पाउँदै आएका थिए ।

स्वास्थ्य बीमा नियमावली २०७५ सुविधा सम्बन्धीको व्यवस्था अनुरूप थप एक लाख दिइने घोषणा गरिएको हो । नियमावलीमा भनिएको छ,‘ १ साउन २०७६ देखि लागु हुने गरी कडा रोग लागेका बीमितलाई थप एक लाख दिइने छ ।’

तर यसका लागि अनिवार्य रूपमा स्वास्थ्य बीमा भने आबद्ध हुनुपर्ने छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार चिकित्सकले कडा रोग लागेको पुष्टि गर्दै स्थानीय तहलाई सिफारिस गर्नुपर्ने छ । त्यसपछि स्थानीय तहले जिल्ला रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयलाई सिफारिस गर्नेछ ।

मल्लका अनुसार पछिल्लो निर्णयको सहुलियत दिन केही प्राविधिक काम भइरहेकाले बीमितले सेवा पाउनका लागि केही हप्ता कुर्नुपर्ने हुन्छ । यसो हुँदा कडा रोगका लागेका मानिसले तीन लाखसम्मको सेवामा सहुलियत हुने भयो । यस्तै सबैभन्दा बढी भने मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई हुने देखिन्छ । किनकि सरकारको राष्ट्रिय कार्यक्रम मार्फत प्रत्यारोपण गर्ने बिरामीलाई ५ लाख ५० हजार दिने व्यवस्था छ ।

अब देखि मिर्गौलाका बिरामीले ८ लाख ५० हजारसम्मको सुविधा पाउने भएका छन् । उसो त प्रदेश सरकारले पनि कडा रोग लागेका बिरामीका लागि थप सहुलियत दिँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस