विद्युतीय बसको अझै टुङ्गो लागेन

रासस

शुक्रबार, १३ मंसिर २०७६, १५ : १८
विद्युतीय बसको अझै टुङ्गो लागेन

काठमाडौँ । सरकारले साझा यातायातमार्फत खरीद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन । बस खरीदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको रु तीन अर्बको शेयर खरीद गरेको पाँच महिना बित्दासमेत खरीद प्रक्रिया अन्योलमा छ ।

सरकारले दिएको ‘स्पेसिफिकेशन’ (कस्तो बस खरीद गर्ने भन्ने विवरण) र साझाले बस खरीदका लागि गरेको तयारीमा फरक देखिएको भनी दशैँ पहिले खरीद प्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालय र संस्थाबीच दुईपटक बैठक भए पनि टुङ्गो लाग्न नसकेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताउनुभयो । 

उहाँका अनुसार बस खरीद साझामार्फत नै गरिने भए पनि कुन रूपमा गर्ने भनी टुङ्गो लाग्न नसकेको हो । उहाँले भन्नुभयो, “आगामी बैठकबाट बाँकी विषय टुङ्ग््यगाएर बस खरीद प्रक्रिया अघि बढाइनेछ ।” काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझाले नेपाल सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरीद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो । 

विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ ले रु ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोडका शेयर खरीद गरेका थिए । ललितपुर महानगरपालिका र साझा आफैँले रु दुई करोड ५० लाख लगानी गरेर विद्युतीय बस खरीद गर्ने बताइएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस