दुर्घटनाले अर्घाखाँचीमा निम्त्याएको ‘शोक’

पत्रपत्रिकाबाट

शुक्रबार, १३ मंसिर २०७६, ०७ : ३४
दुर्घटनाले अर्घाखाँचीमा निम्त्याएको ‘शोक’

अर्घाखाँची । भूमिकास्थान नगरपालिका ठूलोडेबाका २२ वर्षीय शैलेस थापा बुधबार अध्ययनका लागि बुटवल जाँदै थिए । नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा उनको निधन भयो । वाणिज्य क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत उनी केही दिन अघि घर आएका थिए । ‘पढाइमा अब्बल उनी अनुशासित र लगनशील थिए,’ आफन्त राजमी भट्टराइले भने, ‘अकल्पनीय भयो ।’

सन्धिखर्क नगरपालिका(७ की माया पुरी घुम्तीस्थित दिदीको घरबाट आफ्नो घर नरपानी बजारतर्फ जाँदै थिइन्। घुम्तीबाट नरपानी करिब ६ किमी दुरीमा छ। घुम्तीबाट गाडी चढेको १० मिनेट नबित्दै दुर्घटनामा उनको निधन भयो। उनको साथमा रहेका १४ महिनाका छोरा घाइते छन्। दिदीलाई भेट्न मंगलबार उनी घुम्ती गएकी थिइन्। ‘नजिक भएकाले आउजाज भइरहन्थ्यो,’ पुरीका आफन्त कमल केसीले भने, ‘दिदी बहिनीबीच राम्रो सम्बन्ध थियो।’ उनका श्रीमान भारतमा रोजगारी गर्छन्। धनचौरका छविलाल गैरे र उनकी पत्नी विष्णुमाया बाथ रोग लागेपछि उपचार गर्न सन्धिखर्कबाट गाडी चढेर बुटवल हिँडेका थिए। दुर्घटनामा मृत्यु भयो। घटनामा परी १९ जना मृत्यु भएका मध्ये ८ जनाको शव गच्छेघाटमा सामूहिक दाहसंस्कार गरियो।

थापा, पुरी, गैरे दम्पती सन्धिखर्क नगरपालिका(२ की ५९ वर्षीय सिता सार्की, सन्धिखर्क नगर(७ की मोनिका खडका, सन्धिखर्क नगर(७ का ५६ वर्षीय शिवलाल भट्टराई र ५४ वर्षीय बलाराम भट्टराइको गच्छेघाटमा सामुहिक दाहसंस्कार गरियो। एउटै गाउँ नभएपछि वारीपारीका छिमेकी हुन। धनचौर, सन्धिखर्क, खाँचीकोट गाउँमा शोकमा छ। सबै अध्ययन, आफन्तको विवाहमा र उपचारमा बुटवल जाने थिए।
बिहीबार सन्धिखर्क अस्पतालमा मृतकका आफन्तले शव बुझे। ठुलो दुर्घटना भएकाले जिल्ला शोकमा डुब्यो। दिनभर बजारका पसल खुलेनन। करिब आठ वर्षदेखि लगातार नरपानी क्षेत्रमा गाडी दुर्घटना किन हुन्छन भन्दै धेरैले जिज्ञासा राखे। सडक साँधुरो भएर सधै दुर्घटना हुन्छ भन्ने सबैलाई थाहा छ तर, सडक बनाउनेतर्फ कसैको ध्यान जाँदैन, सन्धिखर्कका व्यावसायी सन्तोष बस्नेतले भने। दुर्घटना भएपछि दुईचार दिन हल्ला हुन्छ, त्यसपछि कसैले चासो दिँदैन।

सांसद, जनप्रतिनिधि र सरोकारवाला त्यहीबाटो हुँ बुटवल काठमाडौ जान्छन। डरलाग्दा घुम्तीलाई फराकिलो बनाउने, के कारणले दुर्घटना भएको हो त्यसको खोजी खासै हुँदैन, उनले भने। जाडोको बेला त्यस क्षेत्रमा तुषारो पर्छ। बाटो सधै चिसो हुन्छ। तुषारोमा गाडी चिप्लिएरै जोगाएर सडक पार गर्न सकस नै पर्ने उनले बताए। साँधुरो सडक, अप्ठेरा घुम्तीमा गाडी छिटो कुदने प्रतिप्रर्धाले दुर्घटना हुने गर्छन। गाडीको चाप धेरै सडक जोखिमपूर्ण भएकाले यात्रा त्रासदीपूर्ण नै छ। सन्धिखर्कबाट बुटवलसम्म जाने बसलाई समय निर्धारण गरिएको छ। समितिले तोकेको समयमै गाडी कुँदाएर लैजानुपर्छ। बुधवारको घटना पनि तीव्रगतिमा दौडिएको बस घुम्ती काटन नसक्दा दुर्घटना भएको प्रहरीले जनायो।

सन्धिखर्क देखि गोरुसिंगे सडकमा विस्तारै गाडी हाँक्ने र तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरे दुर्घटना न्यूनीकरण हुने यातायात व्यावसायी प्रेम पाण्डेले बताए। गन्तव्यमा छिटो पुग्ने भनेर साँघुरो सडकमा तीव्र गतिमा दौडाउँदा धेरै दुर्घटना भएका छन। घुम्तीमा मोड काटन नसकेरै दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी वियजराज पौडेलले बताए। दुर्घटना न्युनिकरण कसरी गर्ने भन्ने बारेमा सुक्रवार विहान संघ, प्रदेस सांसद, जनप्रतिनिधि, व्यावसायी सहित सरोकारवालाबीच बैठक बस्ने बताए।

चारको अवस्था गम्भीर
दुर्घटनाका घाइतेमध्ये ९ जनाको उपचार भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा जारी छ। ती मध्ये, चार जनाको अवस्था गम्भीर रहेको शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका अनुसार, उनीहरुलाई उपचारकालागि बुधवार राती यहाँ ल्याइएको थियो। केहीलाई सिधै यहाँ ल्याइएको थियो। केही अन्य अस्पतालबाट रिफर भएर आएका छने।

घाइतेको उपचारकालागि अस्पतालले तत्काल ६ जना चिकित्सकको टोली गठन गरि परिचालन गरेएको जनसम्पर्क अधिकृत तेज केसीले बताए। केसीका अनुसार, अस्पतालका रेडियोलोजिष्ट बिशेषज्ञ सदन मुखीको संयोजकत्वमा न्यूरो सर्जन, कार्डियोथोरोसिक सर्जन, अर्थोपेडिक, जनरल सर्जन र एनेस्थेससीया बिशेषज्ञको टोलीको परिचालन गरिएको हो। यहाँ उपचारत घाइते मध्ये अर्घाखाँचीको पाणीनी गाउँपालिकाका ४२ बर्षिय कृष्ष्ण बिक, ३५ बर्षिय बिष्णु बिक, भूमिकास्थान नगरपालिकाकास्थित डेवाका २५ वर्षीय जीवन बिक, सन्धिखक(५ वाग्लाका ३७ बर्षिय होम बहादुर अधिकारी, सन्धिखर्कर् ११ डिभर्नाका २८ बर्षिय कमल मुखिया, सन्धिखर्क(६ नरपानीका १५ वर्षीय अंकित थापा, सन्धिखर्क(४ वाग्लाकी सरस्वती भट्टराई, कपिलबस्स्तुको बाणगंगा( ७ बनगाइ बस्ने २४ बर्षिया बिमला पोखरेल र उनका ३ वर्षीय छोरा स्पर्श छन। जसमध्ये कृष्ण, जीवन बिक, कमल र स्पर्शको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
कान्तिपुर दैनिकमा खबर छ ।