दुई अर्ब ७१ करोड ४४ लाख रुपैयाँ असुल हुनुपर्ने मागसहित भ्रष्टाचार मुद्दा

पत्रपत्रिकाबाट

मंगलबार, १० मंसिर २०७६, ०७ : २५
दुई अर्ब ७१ करोड ४४ लाख रुपैयाँ असुल हुनुपर्ने मागसहित भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुयोग अनुसन्धान आयोगले कृषि विकास बैंक स्वयम्भूका तत्कालीन शाखा अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले शाखा अधिकृतसहित आठ जनासँग जनही ३३ करोड ९३ लाखको दरमा कुल दुई अर्ब ७१ करोड ४४ लाख रुपैयाँ असुल हुनुपर्ने मागसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले सोमबार शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा दर्ता गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफाले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९झ० बमोजिम सजाय गरी हानि नोक्सानी भएको बिगो असुल उपर हुन माग दाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

त्यस्तै, तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियासँग ३३ करोड ९३ लाख बिगो कायम गरेर मुद्दा दर्ता भएको छ । त्यस्तै, भ्र्रष्टाचारको मतियार बन्ने सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बिगो दाबी कायम गरेर भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी तबरबाट ३३ करोड ९३ लाख रकम निकाली बैंकलाई हानि नोक्सानी पु¥याएको आयोगको ठहर छ । बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरूको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको अख्तियारले आरोप लगाएको छ ।

के छ अभियोगपत्रमा रु

शाखा अधिकृत गौतमले झूठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट ईसीसी ९इलेक्ट्रोनिक चेक क्लियरिङ०मार्फत भुक्तानी लिने गरेको अख्तियारको दाबी छ । नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजनाअनुरूप भारत गई बसेको अनुसन्धानमा भेटिएको छ । उनले योजनाबद्ध ढंगबाट पासपोर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैंकिङ सिस्टमको दुरुपयोग गरेको भेटिएको अख्तियारको दाबी छ ।

रकम लुकाउन कान्छी श्रीमतीको प्रयोग

भ्रष्टाचार मुद्दाकी आरोपित सम्झना पोखरेल गौतम गैरकानुनी तवरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको, आफ्नो नाममा भएका जग्गा जमिन सबै बेची अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने दुराशयपूर्ण उद्देश्यबाट भारततर्फ नै बसाइसराइ गरी गएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । साथै केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदा–हुँदै सो कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको अरोपपत्रमा उल्लेख छ ।

जग्गा खरिदको नाममा पैसा लुकाउने प्रपञ्च

साथै शाखा अधिकृत गौतमले बैंकिङ कसुर गरी प्राप्त रकमबाट गाडी खरिद गरेको अख्तियारले गरेको छानबिनमा भेटिएको छ । अख्तियारको सूक्ष्म अनुसन्धानमा सुमन भुजेल जग्गाको कारोबारमा संलग्न रहेको र अर्का आरोपी सन्दीप गुप्ताले शाखा अधिकृत केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिएको पाइएको छ । साथै उनले भारत पठाउन सहयोग गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

भ्रष्टाचारका अर्को आरोपी सूर्यबहादुर लिम्बुले वसन्त राई भनी किर्ते नागरिकता बनाई केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउनसमेत सहयोग गरेको भेटिएको छ । भ्र्रष्टाचारका अर्को आरोपी कृष्णहरि थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार केदारप्रसाद गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिको नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्नका लागि भूमिका निर्वाह गरेको अनुसन्धानमा खुल्न आएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस