तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेसको आग्रह

सफल खबर संवाददाता

सोमबार, ०९ मंसिर २०७६, १६ : २२
तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेसको आग्रह

पोखरा । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न उहाँको भनाइ थियो ।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर काँग्रेस सभापतिले आशङ्का मात्र व्यक्त गरेको बताउँदै उहाँले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशङ्का गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा नभई सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिँदै प्रवक्ता शर्माले भन्नुभयो, “यो हाम्रा लागि ऐतिहासिक अवसर हो, सरकारले यथाशीघ्र कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ ।”

पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रवक्ता शर्माले सरकार गठनको यस अवधिमा महङ्गी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाउनुभयो । भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैँले छानबिन समिति बनाएको उहाँले बताउनुभयो । 

देशैभरिको उपनिर्वाचनको वातावरण काँग्रेसका पक्षमा भएको दाबी गर्दै उहाँले कास्की क्षेत्र नं २ मा हुने निर्वाचनमा पार्टीले दुई हजार ४०० भन्दा फराकिलो मतले जित्ने सूचना प्राप्त भएको जानकारी दिनुभयो । कास्की क्षेत्र नं २ मा काँग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको बताउँदै उहाँले चुनावमा काँग्रेस पार्टीभित्रको एकता मजबुत रहनुका साथै सरकारका गतिविधिका कारण पार्टीलाई निर्वाचन जित्न सहज बनाएको उल्लेख गर्नुभयो ।

वर्तमान सरकारलाई सच्चिन दबाब दिनका लागि कम्युनिष्ट कार्यकर्तालाई पनि यस पटक काँग्रेसको रुख चिह्नमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस