कृषि पर्यटन प्रवद्र्धन गर्न डाँडाझेरी महोत्सव, तयारी तीव्र

सफल खबर संवाददाता

सोमबार, ०९ मंसिर २०७६, ०९ : २४
कृषि पर्यटन प्रवद्र्धन गर्न डाँडाझेरी महोत्सव, तयारी तीव्र

चितवन । स्थानीय कृषि उत्पादनको बजारीकरण र पर्यटकीय स्थानहरुको प्रचारप्रसारका लागि नवलपुरको डाँडाझेरी स्थित भाङवारीमा महोत्सव हुने भएको छ ।  यही मंसिर १२ देखि १६ गते सम्म हुने प्रथम डाँडाझेरी महोत्सवको तयारी तीव्र पारिएको छ ।  आयोजक डाँडाझेरी गैडाकोट विकास समाजले पत्रकार सम्मेलन गरि महोत्सवको उद्येश्य बारे जानकारी गराएको हो । डाँडाझेरी अध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगरले स्टल निर्माण देखि महोत्सवका अन्य तयारीलाई तीव्र पारिएको जानकारी दिनुभयो ।

नाफा भन्दा कृषि उत्पादन र पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको र यसले नेपाल सरकारको कार्यक्रम भिजीट नेपाल ट्वान्टी ट्वान्टीलाई सहयोग पुर्याउने बताउनुभयो । महोत्सवमा बाल उद्यानका साथै डाँडाझेरीमा रहेको संस्कृति, परम्परा उजागार गर्नुका साथै कालीगण्डकी नदीमा र्याफ्टीङ, राजारानी ढुँगाको अवलोकन, जलदेवी मन्दीरको दर्शनका साथै स्थानीय उत्पादन सुन्तला, केरा, अदुवा, अम्रिसो आदिको सुपथ मुल्यमा खरिद विक्रि गर्न सकिने बताउनुभयो । 

महोत्सवको प्रतिनिधि सभाका सदस्य डा. शसाङ्क कोइरालाले उद्घाटन गर्नुहुने र ३० वटा स्टलमध्ये १० वटा कृषि उत्पादको प्रदर्शनका लागि छुट्याइएको उहाँले बताउनुभयो । पाँच दिनसम्म संचालन हुने महोत्सवको २० हजार दर्शकले अवलोकन गर्ने र २० लाख खर्च हुने अध्यक्ष मगरले बताउनुभयो । प्रवेश शुल्क ५० रुपैया र विद्यार्थी ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि २५ रुपैया कायम गरिएको छ । स्टल वुकिङ्ग खुल्ला भइसकेको र महोत्सवको अवलोकन गर्न जाने दर्शकहरुलाई बस्न र खानाका लागि स्थानीय गाउँमै व्यवस्थापन मिलाइएको प्रचारप्रसार समितिका संयोजक मन प्रसाद भाटले जानकारी दिनुभयो । 

भाङवारी पुग्न गैडाकोटबाट कालिगण्डकी करिडोरको ४२ किलोमिटर र दलदलेबाट ४० किलोमिटरको सवारी यात्रापछि पुग्न सकिन्छ । त्यहाँ रहेका ऐतिहासिक स्थलहरुको प्रवद्र्धननै मुख्य उद्देश्य रहेको भाटको भनाई छ । महोत्सवमा राष्ट्रिय कलाकारहरु राजु परियार, प्रिती आले, जानकी तारमी मगर, संम्झना लामिछाने, दिपक खड्का, यम आले लगायतको प्रस्तुती पनि रहने छ । 

प्रतिक्रिया दिनुहोस