उपनिर्वाचनलाई लक्षित गर्दै दाङमा सुरक्षा व्यवस्था चुस्त

रासस

आइतबार, ०८ मंसिर २०७६, १४ : ४०
उपनिर्वाचनलाई लक्षित गर्दै दाङमा सुरक्षा व्यवस्था चुस्त

दाङ । आसन्न उपनिर्वाचनलाई ध्यानमा राखी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन सुरक्षाका लागि सबै मतदानस्थलमा सुरक्षा निकाय परिचालन गरिएको छ । 

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ गोविन्दप्रसाद रिजालले उपनिर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी र  निर्वाचनका लागि २२ स्थानमा अस्थायी सुरक्षा क्याम्प राखिएको बताए ।  प्रजिअ रिजानका अनुसार निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचनको अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि  राखिएका सम्र्पक कार्यालय, प्रचार अभियान तथा पार्टी कार्यालय सबैको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको पनि प्रजिअ रिजालले जानकारी दिनुभयो ।

सबै मतदानस्थलमा सुरक्षाकर्मीले सवारी साधन प्रयोग गरेर सुरक्षा गस्ती गर्नेछन् । सुरक्षा गस्तीका लागि २६ वटा सवारी साधन प्रयोग गरिनेछ । निर्वाचन हुने क्षेत्र दाङ निर्वाचन क्षेत्र नं ३ को २ र घोराही उपमहानगरपालिका–१६ मा अहिले पनि सुरक्षाकर्मीले गस्तीलाई तीव्र पारेका छन् । निर्वाचनलाई स्वतन्त्र मर्यादित बनाउन र मतदाताहरुलाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउनका लागि आफूहरु गम्भीरका साथ लागिपरेको प्रजिअ रिजालको दाबी छ ।

सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता, यातायात तथा सञ्चारको सुविधा नपुगेका र विगतका चुनावमा घटेका घटनालाई मध्यनजर गरी सुरक्षा संवेदशीलतालाई विश्लेषण गरी  प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ ।  प्रजिअ रिजालका अनुसार दाङ निर्वाचन क्षेत्र नं ३ को (२) र घोराही उपमहानगरपालिका वडा नं १६ मा ३४ वटा मतदानस्थल निर्धारण गरिएकामा २६ वटा मतदानस्थल संवेदनशील, छ वटा स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ । उपनिर्वाचनका लागि ४ सय बढी कर्मचारी खटिने छन् । (रासस)