नेकपाभित्र फेरि वामदेवको फरक मत !

वामदेव भन्छन्,–‘ अहिलेको प्रतिवेदन र विधान दुवैमा मेरो फरक मत छ । त्यसको विपक्षमा कार्यक्रम पनि अघि सारेको छु ।’

सफल खबर संवाददाता

आइतबार, ०८ मंसिर २०७६, ०८ : १३
नेकपाभित्र फेरि वामदेवको फरक मत !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक कार्यदिशा फेरि बहसमा आएको छ । पार्टी एकतापछि तत्कालिन एमालेले अवलम्वन गदैं आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको एक्काइशौं शताब्दीको जनवाद दुवैलाई स्थगन गरी नेकपाले जनताको जनवादलाई पार्टीको वैचारिक राजनीतिक कार्यदिशा बनाएको थियो ।

यो कार्यदिशाको विपक्षमा केही समय अगाडी इश्वर पोखरेल खुलेर बोलेका थिए । उनले एमालेले अवलम्बन गरेको जनताको बहुदलीय जनवादकै पक्षमा वकालत गरेका थिए  तर पछि फेरि राजनीतिक दस्तावेज प्रकाशन गर्ने सन्र्दभमा जनताको बहुदलीय जनवाद नै पार्टी कार्यदिशा हुने उल्लेख भयो । तर फेरि एक पछि अर्काे रुपमा पूर्व एमाले समुहका नेताहरुले पार्टी कार्यदिशामा असहमति जनाउन थालेका छन् । पार्टीले महाधिवशेनका लागि वैचारिक बहस खुल्ला नगदै पूर्व एमाले समुहबाट कार्यदिशा माथि बेलाबेला प्रश्न उठाउदै आईरहेका छन् ।

केही अगाडी दैनिक पत्रिकाहरुमा लामो लेख लेख्दै जनताको जनवादमाथी प्रश्न उठाएका नेकपा नेता वामदेव गौतमले फेरि एकपटक कार्यदिशा माथी असहमति जनाएका छन् । गौतमले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा कार्यदिशामाथी असहमति जनाएका हुन् । शनिवार राजधानीमा क्रिटिकल डिस्कोर्स नेपालले ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजजवादको सम्भाव्यता’ शीर्षकको बहस कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा डा. खगेन्द्र प्रसाँईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसमाथी टिप्पणी  गदै नेता गौतमले आफ्नै पार्टीको राजनीतिक कार्यदिशामा असहमति जनाएका हुन् । पार्टी विधानमा आफनो फरक मत रहेको र त्यसको विपक्षमा आफुले छुट्टै कार्यक्रम पनि राखेको भन्दै उनले फेरि पार्टीभित्रको वैचारिक बहस एकपटक उठाउन खोजेका हुन् । ‘जनताको जनवादलाई पुँजीवाद निर्माण गर्न पार्टी भित्र राखिएको छ र त्यो आधिकारिक विषय मानिएको छ । तर म त्यसमा फरक मत राख्छु । अहिलेको प्रतिवेदनमा पनि मेरो फरक मत छ ।

पार्टीको विधानमा पनि मेरो फरक मत छ । त्यसको विपक्षमा कार्यक्रम पनि अघि सारेको छु । मेरो प्रतिवेदन पनि छुट्टै छ । र पार्टी कस्तो हुनुपर्छ भन्नेमा मेरो आफ्नै मत छ । मेरो मान्यता र धारणा समयक्रममा छलफल हुनेछन् ।  मैले सम्पूर्ण मात्रामा दस्ताबेज अघि सारेको जानकारी गराउन चाहन्छु ।’ कार्यक्रममा नेता वामदेव गौतमले भनेका थिए । प्रस्तावित पार्टी उपाध्यक्ष समेत रहेका नेता गौतमले फेरि शुरु गर्न खोजेको यो बहस अर्थपूर्ण रहेको नेकपा नेताहरुको भनाई छ ।

उनले बेला बेला यसलाई किन बहसमा ल्याउन खोजिरहेका छन् भन्नेमा नेताहरुका बीचमा पनि तरंग सिर्जना भएको छ । गौतमले कार्यक्रममा अझ अगाडी बढेर भनेका थिए,–‘साम्यवाद रुपान्तरणको चरणसम्म समाजवाद जानेछ । त्यो समाजवाद नेपाल आफैले निर्माण गर्न लागेको छ । त्यसको ग्यारेन्टी मेरो पार्टीले लिनुपर्छ । र त्यो बाटोमा हाम्रो पार्टी जानुपर्छ । त्यसैका आधारमा भोट पाएका छौँ र मुलुककै ठूलो पार्टी निर्माण भएको छ ।’

प्रतिक्रिया दिनुहोस