चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी भरतपुरमा

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, १५ : ०७
चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी भरतपुरमा

चितवन । भरतपुरमा मंसिर ६ गतेदेखि चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने प्रदर्शनीबारे आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रदर्शनीको नेकपाका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश ३ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनी मंसिर ९ गतेसम्म चल्ने छ । प्रदर्शनीमा २० भन्दा बढी मुलुकका २ हजारभन्दा बढी किसिमका आधुनीक कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु राखिने छन् ।
मेशिनरी व्यवसायी संघका अध्यक्ष मधुसुधन सिं बस्नेतका अनुसार ७० जिल्लाका करिव ३५ हजार कृषक तथा सरोकारवालाहरुले अवलोकन गर्ने छन् । कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्रसरकारी संस्थाहरु, कृषक समुह, कृषि सहकारी संस्था, वैज्ञानीक, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहने छ ।
एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुका बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गर्दै आएको यस प्रदर्शनीबाट धेरै कृषकहरुले लाभ लिने विश्वास गरिएको छ । प्रदर्शनीमा १० करोडभन्दा धेरै कारोवार हुने आयोजकको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस