जनकपुर–जयनगर रेल्वेको बोगी पुसमा आउने, पुसबाट शुरु होला त सेवा ?

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १४ : ५९
जनकपुर–जयनगर रेल्वेको बोगी पुसमा आउने,   पुसबाट शुरु होला त सेवा ?

काठमाडौँ । रेल्वे ट्रयाक निर्माण सम्पन्न भएपनि संचालन आउन नसकेको जनकपुर–जयनगर रेल्वेको बोगी पुस भित्र आईपुग्ने भएको छ । रेल्वे बोगी कै कारण ट्रयाक निर्माण भएपनि सेवा भने शुरु हुन सकेको थिएन् । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरीद गरिएको रेल्वेको बोगी भारतीय सरकारी कम्पनी कोनकान कम्पनी मार्फत सरकारले खरीद गरेको हो । 

बोगी आउने भएसंगै थप रेल्वे ट्रयाक निर्माण र रेल्वेको विनियमावली बनाउने काम भइरहेको रेल्वे विभागका प्रवक्ता (वरिष्ठ डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले बताए । उनले वर्षाको बाढीका कारण कमला नदीको तटबन्ध भत्काउँदा निर्माण भईसकेको झण्डै १०० मिटर लिग बगाएको थियो । भारतीय कम्पनीले निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरि नसकेकाले क्षति पुगेको स्थानमा सोही ठेकेदार पुर्न निर्माण गर्ने बताउदैं त्यो काम पनि पुससम्ममा सकिने भारतीय पक्षले जनाएको बताए ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेल्वे ट्रयाक निर्माण भएको हो । दुई वटा रेल्वे सेटको बोगी खरीद प्रक्रिया गत वर्ष नै ‘जि टु जि’ (दुई सरकारका बीच) खरिद गर्ने सम्झौता भएको थियो । दुई वटा सेट मध्ये एउटा सेट पुस सम्ममा आइपुग्नेछ,प्रवक्ता चित्रकारले भने‘ डिजेल इलेक्ट्रीक मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच बोगी गरि दुई वटा सेटमा १० बोगी रहनेछन् । दुई सेटको क्षमता एक हजार २ सय यात्रु बोक्ने रहेको छ । 

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको भौतिक पूर्वाधार र ट्रयाक निर्माण भइसकेकाले पुसबाट संचालनमा ल्याउने गरि रेल्वे विभागले तयारी थालेको छ । यो रुट संचालनमा आएसंगै आगामी फागुनदेखि कुर्थाबाट बिजलपुरा खण्डको १७ किलोमिटरमा पनि रेल्वे सेवा संचालन हुने विभागले तयारी थालेको छ ।

रेल्वे सेवा संचालनमा आउने विभागले चाहिने दक्ष जनशक्तीको तयारी थालेको छ । रेल्वे ट्रयाक निर्माणका लागि नेपाल सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । सम्झौताको डेढ वर्ष पछिबाट मात्रै भारतिय पक्षबाछ काम शुरु गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस