पदिय आचरण विपरित कार्य गर्ने २७ सय सैनिक कारवाहीमा

पत्रपत्रिकाबाट

सोमबार, ०२ मंसिर २०७६, ०६ : ४१
पदिय आचरण विपरित कार्य गर्ने २७ सय सैनिक कारवाहीमा

काठमाडौं ।  सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरीत काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबर्जस्ती करणी, चोरी, ठगी, लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा सवारी दुर्घटनादेखि आर्थिक अनियमिततामा मुछिएका सैनिकसमेत छन् ।

नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले २०७१ सालदेखि हालसम्मको अवधिमा २ हजार ७ सय १५ जना सैनिकमाथि विभिन्न शीर्षकमा कारबाही भएको बताए । ‘यसबीचको अवधिमा विभिन्न शीर्षकमा गरी विभिन्न तहमा कार्यरत २ हजार ७ सय १५ जनामाथि सैनिक कानुनअनुसार कारबाही भएको छ,’ प्रवक्ता पाण्डेले राजधानीसँग भने ।

यस अवधिमा विभिन्न पदमा रहेका २ सय २२ जनामाथि कारबाहीस्वरूप घटुवा भएको छ । घटुवामा पर्नेमा उच्च तहका नौ जना सैनिक अधिकृत छन् भने पदिक ६ जना र अन्य दर्जाका २ सय ७ जना छन् ।

यसैगरी, ७ सय ५३ जनाको यस बीचमा बढुवा रोक्का भएको छ । बढुवा रोक्का हुनेमा २६ जना उच्च तहका तथा ८ पदिक र ७ सय १९ जना अन्य दर्जाका सैनिक छन् । यस्तै, ६ वर्षको अवधिमा १ हजार ७ सय २९ जना सैनिक भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारबाहीमा परेका छन । सो शीर्षकमा कारबाहीमा पर्नेमा उच्च तहका ३३, पदिक १८ र १ हजार ५ सय ७८ जना अन्य दर्जामा कार्यरत सैनिक छन् ।

यस बीचमै सरकारी सेवाका लागि ११ जना अन्य दर्जाका सैनिक अयोग्य ठहरिएका छन् । अयोग्य ठहरिएर कारबाहीमा परेकाहरूले भविष्यमा कुनै पनि सरकारी सेवामा प्रवेश पाउनेछैनन् ।

सलामी नगर्ने पनि कारबाहीमा

सैनिक मुख्यालका अनुसार गत वैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही भएको छ ।
आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी नगर्ने ३० जनामाथि वैशाखयता कारबाही भएको हो । उनीहरूलाई सैनिक नियमअनुसार अनुशासनविपरीत आचरण गरेको भन्दै सचेत गराइएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाली सेनाको आफ्नै नियमकानुन रहेको र सैनिक नियमको उल्लंघन गर्नेहरू उपरकारबाही भएको जनाए । उनले सलामी नगर्ने सैनिकहरूलाई भविष्यमा त्यसो नगर्ने गरी सचेत गराइएको जानकारी दिएका हुन् ।
प्रधान सेनापति पूर्णचन्द्र थापाले २४ भदौ २०७५ बाट नेपाली सेनाको जिम्मेवारी लिएपछि सेनालाई अनुशासित बनाउन पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका नै तयार गरेका छन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस