उपनिर्वाचन २०७६ : ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ”

शुक्रबार, २९ कार्तिक २०७६, १६ : १८
उपनिर्वाचन २०७६ : ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ”

चिप्लेढुङ्गा । मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले  आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको छ । यसै क्रममा शुक्रबार पोखरा–१५ रामबजारमा चुनावी अभियान गरेको छ । रामबजारवासीले घरदैलोमा कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईलाई देखेपछि राजनीतिको उचाइमा हजुरलाई देख्न चाहन्छौँ भन्दै शुभकामना दिएका छन् ।
विकासको दीर्घकालीन योजनासहित वृद्धवद्धाको सहारा बनेको नेकपाप्रति आफूहरुको अगाध विश्वास रहेको भन्दै भट्टराईलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । घरदैलो कार्यक्रममा पुग्नुभएकी उम्मेदवार भट्टराईलाई स्थानीय समाजसेवी एवं भूतपूर्व सैनिक लालकाजी गुरुङले अविचलित राजनीतिक यात्राको शुभकामना दिँदै नेकपा आफ्नो आशा र भरोसाको पार्टी भएको बताउनुभयो ।

त्यस्तै स्थानीय ९३ वर्षीया पुण्यकुमारी गुरुङले जनताको पार्टी नेकपा भएको बताउनुभयो  । “वृद्धाभत्ता दिने पार्टी नेकपा वृद्धवृद्धाको एक मात्रा सहारा हो”, उहाँले उम्मेदवार भट्टराईलाई जीतको शुभकामना समेत दिनुभयो ।
 
घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा उम्मेदवार भट्टराईले भूपूसैनिकको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टीले लिने बताउनुभयो । उहाँले रवीन्द्रको अभाव पोखरेली जनतालाई हुन नदिनका लागि नै आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

कोणसभामा नेकपाका केन्द्रीय सदस्य चुडामणि जङ्गलीले ‘समृद्ध पोखरा, सुखीपोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताउनुभयो  । समृद्धिको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको जानकारी दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङमार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइप लाइन विस्तारलगायतका कार्यहरु नेकपा सरकारले गरेको बताउनुभयो ।(रासस)