धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो

सफल खबर संवाददाता

शुक्रबार, २९ फागुन २०८२, १३ : ४३
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–१ मा उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साहको रिटमा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो ।

आयोगले कालोसूचीमा परेका कारण योग्यता नपुग्ने भन्दै साहको उम्मेदवारी रद्द गरेको थियो । उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा भने अत्यधिक मत परेको थियो । तर, सो क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ । 

सर्वोच्चले अर्को फरक रिटमा बिहीबार (फागुन २८) मात्र कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न कर्जा सूचना केन्द्रलगायत निकायलाई अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस