मोदी र पुटिनद्धारा भारत-रुस सम्वन्धको समिक्षा

विहीबार, २८ कार्तिक २०७६, १३ : ०७
मोदी र पुटिनद्धारा भारत-रुस सम्वन्धको समिक्षा

ब्राजिलिया । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ । 
उहाँहरुका बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ । ब्राजिलमा आयोजित ११औँ “ब्रिक्स” सम्मेलनका लागि आएको बेला दुई शिर्ष नेताबीच भेटवार्ता भएको हो । 

उहाँहरुले दुई देशको व्यापारका बारेमा पनि कुराकानी गर्नुभएको भारतको विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, “राष्ट्रपति पुटिनसँगको भेटवार्ता अत्यन्त उत्कृष्ट भयो ।”“हामीले भेटवार्ताका क्रममा भारत र रुसको सम्वन्धलाई अझ बलियो कसरी बनाउने भन्ने बारेमा कुराकानी गरेका छौँ,” उहाँले थप्नुभोे । 

विश्वकै प्रभावशाली मानिने नेताहरु मध्ये यी दुई नेताको भेटघाट अहिले फेरी झण्डै दुई महिनापछि भएको हो । प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले तेल र प्राकृतिक ग्याँसको स्थायित्व र बृद्धिका बारेमा पनि छलफल गर्नुभएको बताइएको छ ।
  
दुई दिने औपचारिक भ्रमणका लागि मोदी बुधबार ब्राजिल आइ पुग्नु भएको हो । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको साझा मञ्च मानिने “ब्रिक्स”को सम्मेलनमा सहभागीता जनाउन ती देशका नेताहरु ब्राजिलमा भेला भएका छन् । 

ब्रिक्सको यो ११औँ सम्मेलनमा डिजिटल अर्थतन्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच देशको रणनीतिक भूमिकाका बारेमा बढी छलफल हुने जनाइएको छ । 
त्यसैगरी आतङ्कवादविरुद्ध संयुक्त रुपमा लड्ने संयन्त्र बनाउने विषय पनि यस सम्मेलनको प्राथमिकताको विषय भएको बताइएको छ । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री मोदीले यो सम्मेलनबाट ब्रिक्सका सदस्य राष्ट्रहरु सांस्कृतिक तथा आर्थिक पक्षबाट पनि जोडिने विश्वास व्यक्त गर्नुभएको थियो । 
सम्मेलनका क्रममा मोदी र पुटिनसँगै चीनका राष्ट्रपति सि चिनफिङ, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायतका शिर्ष नेताहरुका बीचमा पनि भेटवार्ता तथा छलफल हुने कार्यक्रम रहेको छ ।  (रासस/एएनआई)