पाटे बाघ बढेसँगै मानव र बाघबीच द्वन्द्वमा वृद्धि

रासस

मंगलबार, २६ कार्तिक २०७६, २१ : १७
पाटे बाघ बढेसँगै मानव र बाघबीच द्वन्द्वमा वृद्धि

काठमाडौँ । पाटेबाघको आक्रमणबाट बाँकेमा फेरि एक महिलाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणमा परी राप्ती सोनारी गाउँपालिका–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको आज दिउँसो मृत्यु भएको हो । 

राप्ती सोनारी–८ स्थित शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी खड्कालाई बाघले आक्रमण गरी छातीको भाग  खाएको अवस्थामा फेला परको इलाका प्रहरी कायालय कोहलपुरका प्रहरी प्रमुख नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । आज बिहान ९ बजे जङ्गलमा घाँस काट्न गएको उहाँको श्रीमान् तिलक खड्काले जानकारी गराएपछि प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान अगाडि बढाएको शाहीले बताउनुभयो ।

पाटेबाघको आक्रमणमा परी यही कात्तिक २४ गते पनि एक महिलाको ज्यान गएको थियो । कोहलपुर नगरपालिका–१३, नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतलाई पाटेबाघले आक्रमण गरी ज्यान गएको होे । दिउँसो ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने परेवा बस्ने ढिक भन्ने स्थानमा दाउरा लिन गएको बेला बस्नेतलाई पाटेबाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटेबाघको आक्रमणमा परेर मृत भेटिएको कोहलपुर–१३, नयाँबस्तीका स्थानीयवासी निरकबहादुर शाहीले बताउनुभयो ।

बाँके, बर्दियामा गरी १३ जना मानिस पाटेबाघको आक्रमणमा परेका छन् । विसं २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँकेमा दुई र बर्दियामा २०७० देखि हालसम्म ११ आक्रमणमा परेको ११ जनामध्ये बर्दियामा छ जनाको मृत्यु भइसकेको छ भने पाँचजना घाइते भएका छन् ।

 बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् । “बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको उद्देश्य बाघ देख्ने हुन्छ, कोही आक्रमणमा पर्छन्”, संरक्षण अधिकृतले अणनाथ बरालले भन्नुभयो, “पाहुनाले बाघ देखेको कुरा सुन्न पाउँदा धेरै खुशी लाग्छ  तर यस्ता आक्रमणका घटनाबाट हामी दुखित छौँ ।” 

बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटेबाघको आक्रमणबाट यही कात्तिक १९ गते मङ्गलबार दिउँसो एक माहुतेको मृत्यु भएको छ । निकुञ्जभित्र गैँडा मचान नजीक पाटेबाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका–७ मोहनपुर गाउँका ४५ वर्षीय निकुञ्जका माहुते कर्मचारी मंग्रु थारूको ज्यान गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो ।

बाघको सङ्ख्यामा वृद्धि
प्रजनन गर्न सक्ने वयस्क बाघको गणना हुने भएकाले निकुन्ञ्जमा सयको हाराहारीमा बाघ रहेको निकुञ्ज कर्मचारीको दाबी छ । बाघ संरक्षणकै लागि विगतदेखि संवेदनशील क्षेत्रमा नेपाली सेनाको पोष्ट थपेर सुरक्षा रणनीति अपनाएको निकुञ्ज प्रशासनले जनाएको छ । 

पर्यटकीय मार्ग बनेपछि यस क्षेत्रलगायत बर्दिया जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने विषयमा महत्वपूर्ण योगदान हेर्दा ८७ वटा बाघ, ३७ वटा एकसिङ्गे गैँडा, सयभन्दा बढी हात्ती र अन्य जनवार रहेको यस क्षेत्र प्रकृतिसँग रमाउन खोज्ने पर्यटकका लागि मुख्य आकर्षणको थलो बन्न थालेको छ । 

एक दशकअघिसम्म ओझेलमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज निकुञ्जको परिचय अहिले फेरिएको छ । पाटेबाघकै कारण अन्तर्राष्ट्रिय जगत्मा बर्दिया चिनिएको छ । हलिउडका स्टार लियोनार्दो डिक्याप्रियोसँग आएका फोटोग्राफरले निकुञ्जमा खिचेको फोटो सार्वजनिक भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज बाघको मुख्य थलो रहेको थाहा भएको हो । स्टारसँग रहेका फोटोग्राफरले समूहमा रहेका बाघको फोटो सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय जगत्मा बाघको बैभव भनेर बर्दिया जिल्ला चिनिन थालेको छ ।

 सन् २००८ को गणनाअनुसार बर्दिया निकुञ्जमा १४ वटा बाघ रहेकामा सन् २०१३ को गणनामा ३७ वटा पुगेको थियो । सन् २०१८ मा सार्वजनिक गरेको गणनामा बाघको सङ्ख्या ८७ पुगेको छ । आगामी गणनामा बाघको सङ्ख्या एक सय पुग्ने निकुञ्ज प्रशासनले दाबी गरेको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जलाई  सरकारले विस्तार गरेपछि यहाँ  बाघको सङ्ख्या बढेको छ । बाँके राष्ट्रिय निकुञ्ज विस्तार भएपछि बाघ बढेको बासस्थान बढेको निकुञ्ज बाँके निकुञ्जको सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताउनुभयो । निर्बाध रुपमा हिँड्न बाघको क्षेत्र बढेपछि बर्दिया र बाँके निकुञ्जमा बाघको सङ्ख्या बढेको छ । 

बाँके निकुञ्जमा बाघ सङ्ख्या २१ वटा पुगेको छ । पछिल्लो समयमा निकुन्जभित्र बाघको सङ्ख्या बढ्दै गएपछि पूर्वपश्चिम राजमार्गको अम्रेनी र चीसापानी पोष्ट नजिक बाटोमा भाले बाघ आएर बस्ने गरेका छन् । कहिलेकाहीँ पूर्व–पश्चिम राजमार्गमा पर्ने सडकमा बाघ निस्कँदा यातायात नै अवरुद्ध हुने गरेको छ ।

स्थानीय स्तरमा गठन गरिएका चोरी सिकारी नियन्त्रण युवा दस्ता, नेपाली सेना र निकुन्ज प्रशासनको सक्रियताले गर्दा बाघको सङ्ख्या बढेको निकुञ्जको भनाइ छ । वयस्क बाघले बासस्थान र बघिनीले बाघबाट डमरु बचाउन हिँडडुल गर्नुपर्ने बाध्यता भएकाले जताततै बाघ देखिने गरेको र मान्छेलाई समेत आक्रमण गरेको उहाँले बताउनुभयो ।

बाघको सङ्ख्या बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका पर्या–पर्यटन विकास मञचका अध्यक्ष मोहन थारु बताउनुहुन्छ । पहिले बाघ देखाउनका लागि एक सातासम्म रातभर जङ्गलमा बस्नु पथ्र्यो तर अहिले त्यसो गरिरहनु पर्दैन, सजिलै समूहमा बाघ देख्न सकिन्छ ।’’ 

राजस्वमा वृद्धि
आव २०७४÷७५ मा बर्दियामा बाघ हेर्न २० हजार २८४ पर्यटक भित्रिँदा दुई करोड ९८ लाख ६ हजार ४८ राजश्व प्राप्त भएको थियो भने २०७५÷७६ मा २४ हजार ५५८ जना पर्यटक  भित्रँदा रु तीन करोड ७६ लाख ६० हजार ३४५ राजश्व सङ्कलन भएको निकुञ्जको रेञ्जर पुष्पदीप श्रेष्ठले बताउनुभयो । 

बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५÷७६ मा २६२ जना पर्यटक भित्रिँदा रु ९६ हजार ४३ राजश्व सङ्कलन भएको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो ।

पाटेबाघ भारत, नेपाल, भुटान र बङ्गलादेशका सिमित क्षेत्रमा पाइन्छ । प्राकृतिक बासस्थानमा सबैभन्दा बढी भारतमा पाटे बाघ पाइन्छ । भारतमा पाटेवाघको संङ्ख्या २ हजार २२६ रहेको बताइन्छ । यस्तै नेपालमा २३५, बङ्गलादेश १०६ र भुटानमा १०३ वटा पाटेबाघ रहेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस