समाज परिवर्तनमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण : पोखरेल

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, १३ : १६
समाज परिवर्तनमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण : पोखरेल


चितवन । प्रतिनिधी सभाको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले समाज परिर्वतनको लागि सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । 
युथ क्लब नारायणगढको पदस्थापन कार्यक्रमलाई नारायणगढमा सम्बोधन गर्दै उहाँले सरकारले मात्रै समाज परिवर्तन गर्न नसक्ने बताउनु भयो । राजनीतिक परिवर्तन भन्दा अगाडि गाउँगाउँमा सामाजिक संस्था पुगेर समाज परिर्वतन गर्नमा ठूलो भूमिका खेलेको उहाँको भनाई छ । उहाँले भन्नु भयो, ‘गाउँमा खानेपानी लैजान, व्यवसायिक खेती गर्न, बालबालिकालाई पढाउन, महिलाको साक्षरता वृद्धि गर्न, राजनीतिक पविर्तनको लागि जागरुक बनाउन सामाजिक संस्था मार्फत नै काम भएको छ ।’ 
सामाजिक संस्थाको अहिले पनि उत्तिकै आवश्यकता रहेको भन्दै चितवन निर्वाचन क्षेत्र नं. २ का सांसद समेत रहनु भएका पोखरेलले नयाँ संविधान अनुकुल धेरै कानुन निर्माण भएकाले जनताले राहतको महसुस गरेको बताउनु भयो । समाजलाई अझ सुशासन, व्यवस्थित र सक्षम बनाउको लागि आवश्यक कानुन निर्माण भएको उहाँले बताउनु भयो । 
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नंं २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठले सरकार र सामाजिक अगुवाबाट नै समाज सेवा गर्नु पर्नेमा जोड दिनु भयो । सामाजिक संस्थाहरुले गरेका राम्रा कामलाई सरकारले सम्झनु पर्ने बताउनु भयो । कार्यक्रममा इंटा उद्योग संघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटा, बचत तथा ऋण सहकारी संघ चितवनका अध्यक्ष हरिशचन्द्र सुवेदी, गैरसरकारी महासंघ चितवनका अध्यक्ष सुरेश अधिकारी, युथ क्लब नारायणगढका पूर्वअध्यक्ष केशवप्रसाद रेग्मी, आजीवन सदस्य इश्वर श्रेष्ठ, साधारण सदस्य विश्वनाथ ओझा लगायतले मन्तव्य राख्नु भएको थियो । 
सपथ ग्रहण तथा पुरस्कार वितरण 
युथ क्लब नारायणगढको ४७ औ साधारण सभा तथा २४ औ अधिवेशनबाट चयन भएका नयाँ कार्यसमितिको शनिबार साँझ सपथ ग्रहण गरिएको छ । क्लबका निर्वाचन समितिका संयोजक विष्णुप्रसाद सापकोटाले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । 
कार्यक्रममा संस्थालाई विभिन्न माध्यमबाट सहयोग प्रदान गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान, मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष भगवानकुमार जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । क्लबको नयाँ कार्यसमितिमा अध्यक्ष रामबाबु श्रेष्ठ, उपाध्यक्ष शालिग्राम नेपाल, महासचिव किशोरबाबु पुरी, कोषाध्यक्ष रोशन मास्के सहित नौ जना चयन भएका छन् ।     

प्रतिक्रिया दिनुहोस