के प्रधानमन्त्री उपचारका लागि अमेरिका जाँदैछन् ?

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, ०९ : ५६
के प्रधानमन्त्री उपचारका लागि अमेरिका जाँदैछन् ?

काठमाडौं । एक साता अगाडिसम्म प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यको विषय निक्कै चर्चामा थियो । ओली स्वयम्को दुई–दुई पटक ग्रान्डी अस्पतालमा मृर्गौलाको डायलाइसिस गरिएको थियो । त्यसयता ओली प्रधानमन्त्रीको सरकारी निवासमै बसेर निकै सक्रिय भइरहेका छन् ।

अघिल्लो पार्टी सचिवालय बैठकमा समेत ओलीले आफू बिरामी भएको तर सिकिस्त नभएको भन्दै डायलाइसिस गर्ने वा पुनः मृर्गाैला प्रत्यारोपण गर्ने भन्नेमा चिकित्सकसँगको परामर्शमा रहेको जानकारी गराएका थिए । त्यसयता ओलीको न कुनै थप डायलाइसिस गरिएको छ, न ओलीको स्वासथ्यमा थप समस्या आएको छ । उनी स्वस्थ्य रहेको र सक्रिय रहेको देखाइरहेका छन् ।

उनको पुनः डायलाइसिस गर्ने वा मृर्गाैला प्रत्यारोपणका विषयमा त्यसयता न प्रधानमन्त्रीको सचिवालयले केही बताएको छ, न अहिले ती विषय सञ्चारमाध्यममा चर्चामा आएका छन् । तर भित्रभित्रै प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा प्रधानमन्त्रीको सचिवालयले चिकित्सकहरुसँगको सल्लाहमा उपचार विधिका विषयमा कहाँ कसरी गर्ने भन्नेमा भने छलफल गरिरहेको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि भारतमा मृर्गौला प्रत्यारोपण गरिएको थियो भने गत भदौंमा सिंगापुरमा प्लाज्मा फेरेसिक गरिएको थियो । अहिले पुनः सिंगापुरको त्यही नेसनल अस्पतालमा जाने कि अन्य देशमा गएर थप उपचार गराउने भन्नेमा पनि भित्री छलफल जारी छ ।

त्यही क्रममा प्रधानमन्त्रीका निजी चिकित्सक डा दिब्या सिंह र परराष्ट सल्लाहकार डा राजन भट्टराई अमेरिकामा छन् । अलगअलग रुपमा सिंह र भट्टराई अमेरिका पुगेका हुन् । कुनै एउटा गोष्ठीमा सहभागी हुने बहानामा अमेरिका पुगेकी दिब्याबाट त्यहाँका अस्पताल र उपचारका विकल्पका विषयमा अध्ययन भइरहेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ । 

सिंह गएपछि अहिले परराष्ट्र सल्लाहकार भट्टराई पनि अमेरिका पुगेका छन् । यद्यपी, उनी १ मंसिरबाट लागू हुने गरी प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा दिएर अमेरिका उडेका हुन् । उनी पनि अलग कार्यक्रमको बाहनामा त्यहाँ प्रधानमन्त्रीको स्वास्थ्य उपचारको विकल्पमा सिंहसँगै रहेर अध्ययनका लागि पुगेको बताइएको छ ।

निजी चिकित्सक सिंहले त्यहाँ अध्ययन गरेर फर्केपछि प्रधानमन्त्रीको उपचारको अबको विकल्पका बारेमा ठोस निर्णयमा पुगिने बताइएको छ ।

ओलीले अलिक राम्रो उपचार चाहेपछि अमेरिकाका अस्पताल सम्भावित अस्पताल हुन सक्छ कि भनेर बुझ्न र उपचार विधिका विषयमा छलफल गर्न सिंह अमेरिका पुगेकी स्रोतको भनाइ छ ।  उनी यसै साता काठमाडौं फर्किने छिन् । त्यसपछि ओलीको थप उपचारका विषयमा वालुवाटार एउटा निश्र्कषमा पुग्ने स्रोत बताउँछ ।


 

प्रतिक्रिया दिनुहोस