नेकपाका बागी उम्मेदवार अपहरणमा परे

सफल खबर संवाददाता

आइतबार, २४ कार्तिक २०७६, १४ : ५६
नेकपाका बागी उम्मेदवार अपहरणमा परे

काठमाडौँ । बागलुङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का स्वतन्त्र उम्मेदवार अपहरणमा परेको बताइएको छ । सोही कारण उनको उम्मेदवारी फिर्ता हुन नसकेको बताइएको छ । 
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताका लागि तोकिएको समयअघि शेरमान घर्ती मगर अपहरणमा परेको नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जनाए ।
अपहरणमा परेकै कारण उनको उम्मेदवारी फिर्ता हुन नसकेको अध्यक्ष सापकोटाले जानकारी दिए । 
‘उहाँलाई उम्मेदवारी फिर्ता लिनबाट रोक्न केही व्यक्तिहरुले अपहरण गरेको पाइयो । पछि प्रहरीको सहयोगमा उद्दार गरी जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा ल्याउँदा उम्मेदवारी फिर्ता लिने समय घर्किसकेकाले उम्मेदवारी फिर्ता हुन सकेन’ उनले भने, ‘अहिले हामी छलफलमै छौं, धेरै कुरा गर्न सक्ने अवस्था छैन ।’
उनले घर्तीलाई कसले अपहरण गरेको भन्नेबारे भने केही खुलाएनन् । 
स्रोतका अनुसार आइतबार प्रहरीले उनलाई बुर्तिबाङ बजारस्थित स्थानीय नेता तुलसी अर्यालको घरमा फेला पारेर हेलिकप्टरमार्फत बागलुङ बजार लगिएको हो । अर्याल  २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार रहेका थिए ।
प्रभू एयरको हेलिकप्टरमार्फत उनलाई बागलुङ बजार लगिएको भएपनि २० मिनेट ढिला भएकाले उम्मेदवारी फिर्ता हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस