उपचुनाव समीक्षा : यस्तो छ, काङ्ग्रेस र नेकपाको जित्ने लेखाजोखा (अन्तर्वार्तासहित)

सफल खबर संवाददाता

शुक्रबार, २२ कार्तिक २०७६, १० : ५८
उपचुनाव समीक्षा : यस्तो छ, काङ्ग्रेस र नेकपाको जित्ने लेखाजोखा (अन्तर्वार्तासहित)

काठमाडौं । १४ मंसिरका लागि उपचुनावले मुलुकलाई धपक्कै छोपेको छ । ३७ जिल्लाका कुल ५२ स्थानका लागि चुनाव हुँदैछ । जसका कारण पनि राजनीतिक दलहरुलाई आफूले पहिले जितेका स्थान जोगाउने र थप स्थान कसरी जित्ने भन्नेमा मरिमेटेर लागेका छन् ।

प्रतिनिधिसभाको १, प्रदेश सभाको ३ गरी ४ स्थानका लागि हिजोमात्रै उमेदवार मनोनयन भएको छ । स्थानीय तहको चुनावका लागि भने २७ कात्तिकमा उमेदवार मनोनयनको काम हुँदैछ ।

कुन दलका कति दाउमा ?
अहिले उपचुनाव हुन लागेका ५२ स्थानमध्ये सबैभन्दा बढी सत्तारुढ दल नेकपाले जितेका स्थान दाउमा लागेका छन् । नेकपाले जितेका मध्ये कुल २८ स्थानमा उपचुनाव हुँदैछ । त्यस्तै प्रतिपक्ष कांग्रेसले जितेका १४, जनमोर्चाले जितेका २, राजपाले जितेको ४, समाजवादीले जितेको २ र स्वतन्त्र उम्मेदवारले जितेको २ स्थान गरी कुल ५२ स्थान उपचुनावमा राजनीतिक दलहरुलाई दाउ लागेको छ ।

हेर्नुहोस् तालिका 

पहिले जितेकोसहित थप जित्ने रणनीतिमा : नेकपा  
सत्तारुढ दल नेकपाले  पहिले जितेका स्थानमा जित निकाल्दै थप जित्ने रणनीतिमा छ । उसले त्यसका लागि पार्टी पङक्तिलाई आन्तरिक सर्कुलर समेत गरिसकेको छ । प्रतिनिधीसभा र प्रदेश सभाको उपचुनावकालागि उम्मेद्वारी मनोनयन पछि नेकपा महासचिव विष्णु पौडेल उपचुनावमा नेकपाले कम्तीमा ४३ स्थानमा जित्ने दावी गर्छन् ।

कम्तीमा ४३ स्थान जित्छौं : विष्णु प्रसाद पौडेल, महासचिव नेकपा

उपचुनावका लागि प्रतिनिधिसभा  र प्रदेशसभाको उम्मेदवार मनोनयन सकिएको छ, कस्तो रहयो मनोनयन के रिपोर्ट छ तपाईको पार्टीसँग ?

एकदम राम्रो रह्यो । सबैतिरको उत्साहजनक ढंगले उमेदवार मनोनयनको काम भयो । प्रारम्भिक हिसाबले राम्रो भएको छ । अव चुनाव प्रचारप्रसार हुन्छ । सबै राम्रै भएको छ ।

विगतमा तपाईहरुले जितेका २८ स्थानमा अब उपचुनावमा दाउ लागेका छन्, यहाँहरुको आंकलन के छ ? कतिमा जितिन्छ ?

पहिले जितेका सबै ठाउँमा हामी जित्छौं । ५२ स्थानमा उपचुनाव हुँदैछ । त्यसमध्ये कम्तीमा ३९ देखि ४३ स्थानमा हामी चुनाव जित्छौं । हामीले त्यो खालको आंकलन गरेका छौँ । तलबाट प्राप्त रिपोर्टका आधारमा हामीले यो खालको आंकलन गरेका छौँ । त्यही अनुसारका चुनावी अभियान पनि बनाएका छौँ ।

प्रतिनिधिसभा, प्रदेश सभा र उपमहानगरपालिकामा त यस अगाडि तपाईहरुले नै जित्नुभएको थियो, अहिले उपचुनाव हुन लागेका तीन गाउँपालिका अध्यक्षमध्ये पनि एउटामा तपाईहरुले जित्नुभएको थियो, २ वटामा अन्य राजनीतिक दलले जितेका थिए, ती गाउँपालिकामा यहाँहरुको रणनीति के हुन्छ ?

तपाईले ठीक भन्नुभयो । स्थानीय तहको ३ गाउँपालिकाको अध्यक्षमा अहिले उपचुनाव हुँदैछ । एउटा पहिले नै हामीले जितेका थियौँ । अर्काे दुई वटामा हामीले प्रयास र मेहनत गर्नेछौँ । यस हिसाबले गाउँपालिकाको तीन वटाको अध्यक्षमा हामी जित्छौँ ।

गाउँपालिकाको अध्यक्षसम्ममा हुने चुनावमा सबैतिर हामी जित्छौं । बाँकी वडा अध्यक्षहरुको हकमा मात्र अन्य राजनीतिक दलका साथीहरुले केही जित निकाल्लान् कि भन्ने हाम्रो अनुमान हो । महोत्तरीको पिपरा र पाँचथर, फाल्गुनन्द गाउँपािलका अध्यक्ष यस अगाडि अन्य राजनीतिक दलका साथीहरुले जित्नु भएको थियो ।

त्यसबेला हाम्रो पार्टी एक भएको थिएन । हामी अलग अलग रुपमा चुनाव उठेका थियौं । तर अहिले पार्टी एकता भएको छ । यी सबै हिसावले अहिले त्यहाँ हाम्रो जनमत राम्रो छ । यसकारण पनि तीन वटा गाउँपालिकाको अध्यक्षमा हामी बाजी मार्छौं ।

वाग्लुङ लगायतका केही स्थानमा बागी उमेदवारी पनि परेको छ, तपाईहरु भित्रबाट , त्यसबारेमा के भन्नुहुन्छ ?

त्यसरी वागी उमेदवारी परेको रहेछ भने हामी अध्ययन गर्छौं । असन्तुष्टिको सम्बोधनका लागि प्रयास गछौं र उमेदवारी फिर्ताको समयसम्ममा हामी उमेदवारी बागीका फिर्ता लिन लगाएर मिलाउँछौं । त्यो मिल्छ पनि । यो ठूलो समस्याको रुपमा छैन । मिलाउन सकिन्छ भन्नेमा हामीलाई विश्वास छ ।

केन्दबाटै कमाण्डर पठाउने तयारीमा कांग्रेस
नेपाली कांग्रेसले भने उपचुनाव हुने सबै ५२ वटा स्थानमा केन्द्रबाटै चुनावी कमाण्डर पठाउने तयारी गरेको छ । पार्टीले चलाएको दुवै चरणको जागरण अभियानबाट प्राप्त सुझावका आधारमा पार्टी केन्द्रले निर्वाचन परिचालन, समन्वय लगायतका कामका लागि केन्द्रबाटै प्रतिनिधि पठाउन लागिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ ।

 पहिले जितेको भन्दा राम्रो नतिजा ल्याउँछौं  : विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली काग्रेस

उपचुनावको तयारी कसरी गरिरहनु भएको छ ?

हामीले उपचुनाव हुने सबै स्थानमा चुनावी समीक्षा गरेका छौं । हामीले यस अगाडि जितेका ठाउँहरुमा विजयलाई दोहो¥याउँछौं । बाकी अन्य स्थानमा पनि जित हासिल गर्ने रणनीति बनाउँछौं । त्यसका लागि चुनावी गतिविधिलाई परिणाममुखी बनाउनका लागि केन्द्रबाटै नेताहरु परिचालनको नीति बनाएका छौं ।

कहिलेसम्म पठाउनुहुन्छ केन्द्रीय नेताहरु ?

हामी पार्टीमा छलफल गरिरहेका छौं । काग्रेसले चलाएको जागरण अभियानबाट पनि हामीले कतिपय रिपोर्टहरु लिएका छौं । त्यही अनुसार निर्वाचनलाई ब्यवस्थित बनाउन र परिचालन समन्वयको काम गर्नका लागि केन्दबाट प्रतिनिधि पठाउन लागेका हौं । एक दुई दिनभित्रै हामी केन्द्रबाट प्रतिनिधि खटाउँछौं ।

जित्ने आधार के छ तपाईहरुसँग ?

पहिलो संगठन हो । पहिले नाम छुटेका मतदातालाई मतदाता नामावलीमा ब्यवस्थित वनाएका छौं । दोस्रो पार्टीको तल्लो तहसम्म संगठन पुगेको छ । जागरण अभियानले एउटा उर्जा पैदा गराएको छ । लोकतन्त्रप्रति नेपाली जनताको आस्था र सरकारका कार्यशैलीका कारण कांग्रेसका पक्षमा जनमत बढदो छ । जसकाकारण पनि विगतका भन्दा पनि चुनावी परिणाम राम्रो आउने अपेक्षा हामीले गरेका छौं ।

 

प्रतिक्रिया दिनुहोस