भारतको नयाँ नक्साको विद्यार्थीहरुले विरोध गर्ने

सफल खबर संवाददाता

बुधबार, २० कार्तिक २०७६, ११ : ३१
भारतको नयाँ नक्साको विद्यार्थीहरुले विरोध गर्ने

काठमाडौँ । सत्तारुढ दलको विद्यार्थी संगठनले आज दिउँसो ३ बजे भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्ने भएको छ । 
भारत सरकारले लिपुलेकलगायत नेपाली भूमिलाई समेत आफनो नक्सामा समेट्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालभित्र यसको चौतर्फी विरोध सुरु भएको छ ।

भारतले आइतबार जारी गरेको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले त्यसको विरोधमा आज दिउँसो प्रदर्शन गर्ने तयारी गरेको छ ।

अखिल नेता उत्तम अधिकारीका अनुसार, दिउँसो ३ बजे भृकुटीमण्डपमा विद्यार्थीहरुले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपाल भारत र चीनको त्रिदेशीय विन्दुमा अवस्थित कालापानी क्षेत्रलाई भारतीय भूभागका रुपमा समावेश गरिएपछि त्यसको चौतर्फी विरोध हुन थालेको हो ।

त्यसैको विरोध स्वरुप अहिले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । विज्ञहरुले भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको नेपालले विरोध जनाउनुपर्ने बताएका छन् ।

पूर्व सचिव द्दारिकानाथ ढुंगेलले भने, ‘यस विषयमा आफनो धारणा के हो सरकारले स्पष्ट पार्नुपर्छ । तर अहिलेसम्म सरकारले औपचारिक रुपमा केही भनेको छैन ।’ भारतको पछिल्लो कदम मानचित्रमाथिको आक्रमण भएकोले पनि त्यसको जमेर सवै राष्ट्रवादी शक्तिहरुले विरोध गर्नुपर्ने बताए ।

यस विषयमा नापी विभागले भने अध्ययन सुुरु गरिएको बताएको छ । नेपाल र भारतका बीचमा सुस्ता र कालापानीका विषयमा विवाद छ । यो विषय दुवै देशको सचिवस्तरीय कमिटिमा छलफलमा छ । 

प्रतिक्रिया दिनुहोस