पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छः राष्ट्रपति भण्डारी

रासस

सोमबार, १८ कार्तिक २०७६, २१ : ३४
पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छः राष्ट्रपति भण्डारी

काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । 

सम्मेलनलाई भिडियो सन्देश दिनुहँुदै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक सामाजिक रुपान्तरणमा पोषणको ठूलो महत्व रहेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले नेपालले बहुक्षेत्रीय षोषण कार्ययोजना कार्यान्वयन गरिरहेको उल्लेख गर्दै आमा र  बालबालिकालाई पोषिलो खाना उपलब्ध गराउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

आमाको गर्भ सुरक्षित हुँदा मात्र युगको सुरक्षा हुने भन्दै उहाँले भन्नुभयो, “पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छ ।”

सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र आइभरीकोष्टका उपराष्ट्रपति ड्यानियल डंकलले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले दिगो विकास लक्ष्यले तय गरेको पोषणको मात्रालाई पूरा गर्न सरकारले विशेष कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको बताउनुभयो । 

आर्थिक सामाजिक रुपान्तरणका लागि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपालीको’ सङ्कल्पसहित काम गरिरहेको उल्लेख गर्दै सामाजिक कारणले पनि महिला बालबालिका कुपोषित भइरहेको बताउनुभयो । 

उपप्रधानमन्त्री पोखरेलले गरीबी निवारण कार्यक्रममार्फत पोषण र खाद्य सुरक्षाका कार्यक्रम अगाडि बढाइएको तथा कृषिमा आधुनिकीकरण गरी खाद्य सुरक्षामा जोड दिइएको बताउँदै खाद्य सुरक्षा र पोषणलाई नेपालको संविधानलेसमेत मौलिक हकका रुपमा सुरक्षित गरेको जानकारी गराउनुभयो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सन् २०२२ सम्म विकासशील देशमा नेपाललाई रुपान्तरण गर्ने लक्ष्यसहित काम भइरहेको बताउँदै पोषण र खाद्य सुरक्षाका लागि सातै प्रदेशमा कार्यक्रम कार्यान्वयन भइरहेको छ भन्नुभयो । उहाँले प्रजनन उमेरका महिला तथा बालबालिकालाई एकीकृत गरेर साझा कार्यक्रमका साथ सरकार लागिपरेको बताउनुभयो । 

 ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको सो चारदिने अन्तरराष्ट्रिय सम्मेलन दक्षिण एशियामा नै नेपालमा पहिलोपटक आयोजना भएको हो । हरेक दुई वर्षको अन्तरालमा यस प्रकारको अन्तरराष्ट्रिय सम्मेलन हुने गर्दछ । सम्मेलनलाई कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले उच्च महत्वका साथ लिएका छन् । 

सम्मेलनमा भाग लिन विभिन्न देशका उच्च व्यक्तित्व आइतबार काठमाडाँै आइपुग्नुभएको थियो । राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० प्रतिनिधिको सहभागिता छ । उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि पोषणसम्बन्धी विज्ञहरू सो सम्मेलनमा सहभागी भएका छन् । 

सम्मेलनको पहिलो दिन आज बिहानदेखि पोषणसम्बन्धी सेवाको विस्तार (स्केलिङ अफ न्युट्रिसन) अभियानमा आबद्ध देश, अन्तराराष्ट्रिय दातृ निकाय तथा संयुक्त राष्ट्र सङ्घीय निकायका उच्च नेतृत्वका बीचमा सम्मेलनको तयारी बैठक सम्पन्न भयो । 

सम्मेलनको आवश्यक तयारी पूरा भएको आयोगले जनाएको छ । पोषणसँग सम्बन्धित क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा समाजकल्याणलगायतका विषयमा २५ अलगअलग कार्यशाला सम्मेलनका क्रममा हुने जनाइएको छ । 

साथै सहभागी देशले पोषणका क्षेत्रमा गरेका उपलब्धि र कुपोषण न्यूनीकरणका लागि आगामी रणनीतिका बारेमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन् । 

साथै कुपोषण न्यूनीकरणका गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि गम्भीर छलफल गर्दै सम्मेलनले काठमाडाँै घोषणापत्रसमेत जारी गर्नेछ । यसैगरी आगामी सम्मेलनको स्थानसमेत यो सम्मेलनले तोक्ने छ । नेपाल स्केलिङ अफ न्युट्रिसन  अभियानको सक्रिय सदस्य देश हो । यो अभियानको सुरुआतदेखि नेपालले यो सम्मेलनमा भाग लिँदै आएको छ ।  

सो अभियानको पहिलो सम्मेलन २०१३ मा अमेरिकाको न्यूयोर्क, दोस्रो सन् २०१४ मा इटलीको रोम, सन् २०१५ इटलीकै मिलान र सन् २०१७ मा अविदजान, कोट डि आइभोरीमा सम्पन्न भएका थिए ।