– सुरेशप्रसाद आचार्य
देशको कार्यकारी प्रमुख प्रधानमन्त्री अस्वस्थताका कारणले राज्य सञ्चालन गर्न सक्नुहुन्छ वा सक्ने अवस्थामा हुनुहुन्न ? यो गम्भीर प्रश्न हो । अब प्रश्न उठ्छ, नेपालमा यो कुराको निर्क्योल कसले गर्दछ ?
विश्वका धेरै देशमा संवैधानिक निकास नै हुनेगर्छ भने कतिपय देशमा संसदीय समितिले जाँचपडताल गरेपछि संसदले निर्णय गर्ने संवैधानिक व्यवस्था हुन्छ । कतिपय देशमा महाअभियोगबाट पदमुक्त गर्ने गरिन्छ । कुनैकुनै देशमा राज्यको स्वतन्त्र मेडिकल बोर्डले पदमा बस्न फिट वा अनफिट भन्ने निष्कर्श निकाल्ने गरिन्छ । पार्टी प्रणाली सक्षम भएको देशमा पार्टीले अस्वस्थ्य नेता वा कार्यकारी प्रमुखलाई आराम गर्ने सल्लाह दिंदै विकल्प अघि सार्ने गर्दछ । नेपालमा कसले यसबारे बोल्ने हो, वा प्रवन्ध के छ ? पहिले राजतन्त्र रहँदासम्म नेपालमै पनि राजसभा वा राजपरिषदलाई ‘राजालाई अस्वस्थताका आधारमा पदमुक्त गर्ने’ बकाइदा संवैधानिक व्यवस्था नै थियो ।
हालैका दशक, म्यान्मारका शक्तिशाली सैनिक प्रशासक थान स्वे र अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बुटलेफ्लिकाडहरूको स्वास्थ्य सम्बन्धी विवाद उठेपछि दुवैले पदबाट राजीनामा गरेर विश्राम लिएका थिए भने उनीहरूले राज्य संचालनका लागि निकास खोलिदिएका थिए । दुवै देशमा अखबारहरूले धेरै लेखे, टेलिभिजनहरूले खबर सम्प्रेषण गरे तर सरकारी प्रभाव र दवावका कारण गहिरिएर यथार्थ खबरहरू सम्प्रेषित गरेनन् । यी दुवै शक्तिशाली नेतालाई पद त्याग गर्न सर्वसाधारणले दबाब दिँदा उनीहरूले लामै समयसम्म अटेर गरी बसे । फेरि देशको कार्यकारी प्रमुखको स्वास्थ्य, सोझै मुलुकको राष्ट्रिय सुरक्षासँग गाँसिएको विषय हो । संसद वा विधायिकाले जनताको चाहना बुझेर पनि नेताहरूकै ‘रबर स्ट्याम्प’ बनेपछि अन्ततः देशका सेना प्रमुखले सार्वजनिक रूपमा मुख खोले– ‘कार्यकारी प्रमुख राज्य संचालन गर्न स्वास्थ्यका कारणले अनफिट (अक्षम) छन् । यो उद्घोषण सँगै दुवै देशका नेताले चूपचाप राजीनामा गरेका थिए ।
नेपालमा वर्तमान प्रधानमन्त्री असाध्य रोगले पिडीत हुनुभई पटकपटक देशभित्रै र विदेशमा समेत उपचारार्थ लगिँदै आएको छ । उहाँमा गम्भीर प्रकृतिको रोग र त्यसको उपचारका लागि प्रयोग गरिएका औषधीले शारिरीक-मानसिक साइड ईफेक्ट्स आइपर्नु स्वभाविकै छ । तर आजसम्म पनि नेपाल सरकारको आधिकारिक मेडिकल बोर्डलाई न प्रधानमंत्रीको स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरिएको छ, न त मेडिकल बोर्डले प्रधानमंत्रीज्यूको स्वास्थ्य अवस्थाबारे हस्तक्षेपकारी भूमिका बहन गर्नसक्ने अधिकार नै राख्छ । प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्थाबारे नेपाल सरकारको आधिकारिक धारणा आजसम्म पनि सार्वजनिक रूपमा संप्रेषित भएको छैन् । प्रधानमन्त्री सार्वजनिक व्यक्तित्व भएकाले जनतालाई उहाँको स्वास्थ्य अवस्था बारे सूसुचित गराउनु राज्यको जिम्मेवारी हो ।
मैले माथि उल्लेख गरेका विषय सैद्धान्तिक पक्षहरू हुन्, जसको निर्क्योल हुनु प्रधानमन्त्री पदको गरीमाको हकमा र राष्ट्रिय चासोको निदानका लागि आवश्यक छ । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यले देशकै स्वास्थ्य निर्देशित गर्छ । यसर्थ, प्रधानमन्त्री ओलीज्यू यथाशिघ्र सुस्वास्थ्य भई उहाँलाई सक्रियतासँग राज्य सञ्चालन गर्ने शक्ति प्राप्त होओस् भनी सतत् कामना गर्दछु ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत