देशको कार्यकारी प्रमुख– शारीरिक ‘फिट’ वा ‘अनफिट’

विहीबार, १४ कार्तिक २०७६, १३ : १२
देशको कार्यकारी प्रमुख– शारीरिक ‘फिट’ वा ‘अनफिट’

– सुरेशप्रसाद आचार्य 

देशको कार्यकारी प्रमुख प्रधानमन्त्री अस्वस्थताका कारणले राज्य सञ्चालन गर्न सक्नुहुन्छ वा सक्ने अवस्थामा हुनुहुन्न ? यो गम्भीर प्रश्न हो । अब प्रश्न उठ्छ, नेपालमा यो कुराको निर्क्योल कसले गर्दछ ?

विश्वका धेरै देशमा संवैधानिक निकास नै हुनेगर्छ भने कतिपय देशमा संसदीय समितिले जाँचपडताल गरेपछि संसदले निर्णय गर्ने संवैधानिक व्यवस्था हुन्छ । कतिपय देशमा महाअभियोगबाट पदमुक्त गर्ने गरिन्छ । कुनैकुनै देशमा राज्यको स्वतन्त्र मेडिकल बोर्डले पदमा बस्न फिट वा अनफिट भन्ने निष्कर्श निकाल्ने गरिन्छ । पार्टी प्रणाली सक्षम भएको देशमा पार्टीले अस्वस्थ्य नेता वा कार्यकारी प्रमुखलाई आराम गर्ने सल्लाह दिंदै विकल्प अघि सार्ने गर्दछ । नेपालमा कसले यसबारे बोल्ने हो, वा प्रवन्ध के छ ? पहिले राजतन्त्र रहँदासम्म नेपालमै पनि राजसभा वा राजपरिषदलाई ‘राजालाई अस्वस्थताका आधारमा पदमुक्त गर्ने’ बकाइदा संवैधानिक व्यवस्था नै थियो ।

हालैका दशक, म्यान्मारका शक्तिशाली सैनिक प्रशासक थान स्वे र अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बुटलेफ्लिकाडहरूको स्वास्थ्य सम्बन्धी विवाद उठेपछि दुवैले पदबाट राजीनामा गरेर विश्राम लिएका थिए भने उनीहरूले राज्य संचालनका लागि निकास खोलिदिएका थिए । दुवै देशमा अखबारहरूले धेरै लेखे, टेलिभिजनहरूले खबर सम्प्रेषण गरे तर सरकारी प्रभाव र दवावका कारण गहिरिएर यथार्थ खबरहरू सम्प्रेषित गरेनन् । यी दुवै शक्तिशाली नेतालाई पद त्याग गर्न सर्वसाधारणले दबाब दिँदा उनीहरूले लामै समयसम्म अटेर गरी बसे । फेरि देशको कार्यकारी प्रमुखको स्वास्थ्य, सोझै मुलुकको राष्ट्रिय सुरक्षासँग गाँसिएको विषय हो । संसद वा विधायिकाले जनताको चाहना बुझेर पनि नेताहरूकै ‘रबर स्ट्याम्प’ बनेपछि अन्ततः देशका सेना प्रमुखले सार्वजनिक रूपमा मुख खोले– ‘कार्यकारी प्रमुख राज्य संचालन गर्न स्वास्थ्यका कारणले अनफिट (अक्षम) छन् । यो उद्घोषण सँगै दुवै देशका नेताले चूपचाप राजीनामा गरेका थिए ।

नेपालमा वर्तमान प्रधानमन्त्री असाध्य रोगले पिडीत हुनुभई पटकपटक देशभित्रै र विदेशमा समेत उपचारार्थ लगिँदै आएको छ । उहाँमा गम्भीर प्रकृतिको रोग र त्यसको उपचारका लागि प्रयोग गरिएका औषधीले शारिरीक-मानसिक साइड ईफेक्ट्स आइपर्नु स्वभाविकै छ । तर आजसम्म पनि नेपाल सरकारको आधिकारिक मेडिकल बोर्डलाई न प्रधानमंत्रीको स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरिएको छ, न त मेडिकल बोर्डले प्रधानमंत्रीज्यूको स्वास्थ्य अवस्थाबारे हस्तक्षेपकारी भूमिका बहन गर्नसक्ने अधिकार नै राख्छ । प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्थाबारे नेपाल सरकारको आधिकारिक धारणा आजसम्म पनि सार्वजनिक रूपमा संप्रेषित भएको छैन् । प्रधानमन्त्री सार्वजनिक व्यक्तित्व भएकाले जनतालाई उहाँको स्वास्थ्य अवस्था बारे सूसुचित गराउनु राज्यको जिम्मेवारी हो ।

मैले माथि उल्लेख गरेका विषय सैद्धान्तिक पक्षहरू हुन्, जसको निर्क्योल हुनु प्रधानमन्त्री पदको गरीमाको हकमा र राष्ट्रिय चासोको निदानका लागि आवश्यक छ । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यले देशकै स्वास्थ्य निर्देशित गर्छ । यसर्थ, प्रधानमन्त्री ओलीज्यू यथाशिघ्र सुस्वास्थ्य भई उहाँलाई सक्रियतासँग राज्य सञ्चालन गर्ने शक्ति प्राप्त होओस् भनी सतत् कामना गर्दछु ।