बालुवाटारले किन लुकाइरहेछ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?

सफल खबर संवाददाता

विहीबार, १४ कार्तिक २०७६, ११ : ४२
बालुवाटारले किन लुकाइरहेछ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको ‘आकस्मिक डाइलासिस’ गरिएको छ ।

हिजो बुधबार बिहानै अस्पताल लगिएका ओलीको ग्रान्डी अस्पतालमा आकस्मिक डायलासिस गरिएको हो । तर प्रधानमन्त्री र उनको सचिवालयले मात्र होइन, अस्पताल र अस्पतालका चिकित्सकले पनि प्रधानमन्त्रीको आकस्मिक डायलासिस गरिएको वास्तविकता लुकाइरहेका छन् ।

त्यक्तिमात्र होइन, अस्पताल प्रशासन र उपचारमा सम्लग्न चिकित्सकलाई पनि प्रधानमन्त्रीको सचिवालयले घटनाको वास्तविकता नबताउन र समान्य प्रेस नोट जारी गर्न निर्देशन गरेको अस्पताल स्रोतले बतायो । ओली तीन दिन यता अलिक अस्वस्थ देखिँदै आएका थिए । स्वास्थ्यमा खराबी देखिएपछि उनी बुधबार ग्रान्डी पुगेका थिए ।

ओलीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा हानिकारक तत्व ‘क्रियटाइन’ बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । शरीरको एन्टिबडिज हटाउन प्लाज्मा फेरेसिस र हेमोडायलाइसिस गरेभन्दा यो फरक तरिका हो । तत्कालका लागि जरुरत पर्दा अल्ट्रा–फिल्ट्रेसनमार्फत रगत शुद्धीकरण गरिन्छ । ओलीलाई यो विधि पनि प्रयोग गरिएको अस्पताल स्रोतले बतायो । जसकाकारण वास्तविक सूचना सार्वजनिक भएको छैन ।

हुन त व्यक्तिको गोपनीयताको हक मौलिक कानुनकै रुपमा संविधानमा लेखिएको छ । उसले आफ्ना बारेमा गोपनीयताका हकको अधिकार प्रयोग गरेर गोप्य नै राख्न पाउँछ । तर कोही यस्ता ब्यक्ति हुन्छन्, उसको सबै जीवन सार्वजनिक हुन्छ । यसका बारेमा जनताले के भइरहेछ, कस्तो भइरहेछ भन्ने जानकारी लिन पाउने सूचनाको हकको पनि उत्तिकै महत्व हुन्छ ।

प्रधानमन्त्री त्यस्तै मध्येका एक पात्र हुन्, –जसको स्वास्थ्य अवस्था, उपचार विधि र प्रक्रियाका विषयमा सर्वसाधारण जो कोहीले पनि जानकारी राख्न पाउने सूचनाको हकको पनि विषय उठ्छ । तर वालुवाटारले वास्तविक सूचना लुकाउन अनेक चाल चालेको छ ।

मौलिक हकको प्रयोग गर्दा व्यक्तिको भन्दा बहुसंख्यक जनताको हक हावी हुन आउँछ । यस अर्थमा वास्तविकता जान्न पाउने जनताको सूचनाको हक यसमा बढी आकर्र्षित हुन्छ । यस अर्थमा व्यक्तिको गोपनीयताको हकभन्दा जनताको सूचनाको हक आकर्षित हुन्छ  । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सर्वसाधारण जनताले जान्न पाउनुपर्ने सूचनाको हक आकर्षित हुन्छ ।

तर प्रधानमन्त्रीको सचिवालयले अहिलेमात्र होइन, यस अगाडि पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थादेखि उपचार प्रक्रियासम्मका विषय गोप्य राख्दै सामान्य जानकारी मात्र गराउँदै आएको छ । बुधबार पनि त्यही गरिएको छ ।  प्रधानमन्त्रीका निजी चिकित्सक डा दिब्यासिंह शाह र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस नोटमा प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि अस्पताल भर्ना भएको स्रोतले बताएको छ ।
‘उहा (प्रधानमन्त्री)को स्वास्थ्यस्थिति समान्य छ । आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ जारी प्रेस नोटमा उल्लेख छ । तर प्रधानमन्त्री डायलासिस गरिएका कारण अझै एक दुई दिन अस्पताल नै बस्नुपर्ने अवस्था रहेको अस्पताल स्रोतले बताएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो ।

२० भदौमा स्वदेश फर्किएका उनी पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालिएको थियो । २ कात्तिकमा फेरि ओली अस्पताल पुगेका थिए । त्यसदिन ग्राण्डी अस्पतालमा दिनभर बसेर फर्किएका ओलीको नियमित स्वास्थ्य जाँचमात्र भएको ओलीका निजी चिकित्सक डा दिब्या बताउँछिन् ।