तिहार विशेष

मादल बनाउनेहरु भन्छन् : काम गर्न भ्याईनभ्याई छ, तर छैन सहज वातावरण

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, ०९ कार्तिक २०७६, १४ : ३३
मादल बनाउनेहरु भन्छन् : काम गर्न भ्याईनभ्याई छ, तर  छैन सहज वातावरण

- हिरालाल आचार्य‘डायमण्ड’ 
चितवन । अहिले तिहारको बेला छ । देउसीभैलो खेल्नेहरुले मादलको तालमा भट्याउन सुरु गरिसकेका छन् । अनि मादल व्यवसायीहरुलाई नयाँ मादल बनाउन र बिक्री गर्न भ्याईनभ्याई छ ।

तिहार लागेसँगै मादलको प्रयोग पनि बढ्ने गर्छ । नेपाली समाजमा तिहारको बेला मादल बजाएर देउसी खेलिन्छ । पछिल्लो समय युवालाई आधुनिक बाजाले तानेको भए पनि मादल जस्ता लोक बाजाहरुको लोकप्रियता अझै कायम छ । विशेष चाडपर्वहरु (तीज, दशैं र तिहार) को बेला मादल नभई हुँदैन । 

नारायणगढको पोखरा बसपार्कमा २१ वर्षदेखि मादलसहित विभिन्न लोक बाजा बनाउने व्यवसाय गर्दै आएका नारायण नेपालीको पसलमा मादल किन्न आउने र पुरानो मादल बनाउन आउनेहरुको भिड छ । उनको बुझाइमा लोक परम्परासँग जोडिएको नेपाली राष्ट्रिय बाजा मादलको प्रयोग पछिल्लो समय झन् बढ्दो छ । नेपाली समाजले अहिले आफ्नो पुरानो संस्कृति खोज्न लागेको उनले बताए । 

उनीकहाँ बनेको मादल पूर्वको लालबन्दी, धरान, इटहरीदेखि पश्चिमको बुटवल, दाङलगायतका ठाउँसम्म पुग्ने गर्छ । उनले २ हजारदेखि ७ हजार रुपैयाँमा एउटा मादल बेच्ने गर्छन् । आफ्ना दुई श्रीमती र आफूलाई वर्षभरि नै मादल बनाउने र मर्मत गर्ने काम भ्याईनभ्याई हुने गरेको उनी बताउँछन् । 

वर्षमा करिब ६०० मादल बनाएर बेच्ने गरेको सुनाउने उनले व्यापार हरेक वर्ष एउटै भएको बताए । तिहारको बेला कार्तिक महिनामा मात्र करिब १५० वटा मादल बिक्ने गरेको उनले बताए । यो वर्ष पनि त्यसैको हाराहारीमा पुग्ने उनको अनुमान छ ।
 मादल बनाउनको लागि चाहिने बाख्राको छाला फुर्सद भएको बेला आफै तयार पार्ने गरेको उनले बताए । गाई, गोरुको छाला बाहिरबाट किनेर ल्याउँछन् उनी । त्यसरी ल्याउँदा सहज तरिकाबाट ल्याउने वातावरण सरकारले बनाइदिनु पर्ने उनको माग छ ।

उनी आफ्नो छोरालाई पनि यसै पेसामा संलग्न गराउन चाहन्छन् । ‘सकेसम्म नेपालको संस्कृति जोगाउन मैले छोरालाई पनि यही काम गर्न भन्छु’ उनी भन्छन् । सात कक्षामा पढ्ने छोरालाई पनि भविष्यमा उनले यही पेसा अंगाल्न सक्ने गरी काम सिकाइरहेका छन् । छोरीहरुलाई भने संलग्न नगराएको उनले बताए । आफूले अरुहरुलाई पनि काम सिकाउने गरेको उनी बताउँछन् ।

नारायणगढकै लिलाचोकमा पाँच वर्षदेखि मादललगायतका लोक बाजा बनाउने व्यवसाय गर्दै आएका ३२ वर्षीय रामबहादुर कुलुले मादलको व्यापार राम्रो भएको बताए । गत वर्ष दुई हजार वटा मादल बेचेका उनले यस वर्ष पनि व्यापार नघट्ने आंकलन गरेका छन् । तिहारको बेला कार्तिक महिनामा मात्र उनले ४०० वटा मादल बेच्ने लक्ष्य लिएका छन् । उनको पसलबाट खुद्रा भन्दा पनि होलसेलमा बढी मादल बिक्ने गर्छ । पूर्वदेखि पश्चिमसम्म आफूले बनाएको मादल पुग्ने उनी बताउँछन् ।

‘केही वर्ष पहिला आधुनिक बाजाले लोक बाजाको व्यवसायलाई धरासायी बनाइसकेको थियो । अहिले भने नेपाली समाज आफ्नो लोक संस्कृतिको जगेर्ना गर्न जागेको छ’ उनले भने । विभिन्न आमा समूहहरुले गर्दा पनि अहिले मादल व्यवसाय जोगिएको उनको भनाइ छ  । 
पछिल्लो युवा पुस्तामा भने मादलप्रति खासै आकर्षण नपाएको उनले बताए । समाजमा अझै पनि अघिल्लो पुस्ताका मानिसहरु भएकाले मादल व्यवसाय चलिरहेको उनको बुझाइ छ । 

छाला ओसारपसारमा समस्या
नारायणका पूर्वजहरुले पनि यही काम गर्दै आएका थिए । उनले पनि बाबुबाट सानैदेखि काम सिके । ‘आफ्नो कला संस्कृतिको माया लागेर म यो व्यवसायमा लागेको हुँ । पूर्वजले गर्दै आएको कामलाई छोड्नु हुन्न भनेर होे । ठूलो रकम कमाउने सपनाले होइन । देश चिनाउने काम गरेको छु । मादल भएन भने राष्ट्रको संस्कृति लोप हुन्छ । यो काम गर्दा मलाई गर्व लाग्छ । तर अब देशको यही अवस्थामा मेरा सन्तानले यो काम गर्न सक्छन् जस्तो मलाई लाग्दैन’ उनी भन्छन् । 

त्यो के अवस्था हो त ? उनले उत्तर दिँदै भने ‘यो गाह्रो काम हो । धेरै दुःख छ । हामीले अहिले यसरी गर्ने दुःख आउँदो पुस्ताले गर्न सक्दैन । अब यही अवस्थामा यो काम गर्न सहज वातावरण पनि म देख्दिन ।’ कामको हिसाबले कठिन हुने यो काममा कानुनी जटिलताले झन् असहजता थपिदिएको उनले बताए । 
नारायणका अनुसार मादललगायतका बाजाहरु बनाउन गाई, गोरु, बाख्राको छाला आवश्यक पर्दछ । ‘गाउँ, घर, पहाडमा बुढापाकाहरुले मरेको गाई, गोरुको छाला निकालेर बनाउँछन् । त्यही छाला मैले किनेर ल्याउने हो । तर यहाँसम्म ल्याउन बाटोमा बेलाबलामा प्रहरीबाट दुःख खेप्नु परेको छ’ उनले दुःखेसो पाख्दै भने, ‘टाढाटाढाबाट मरेका गाई, गोरुको छाला ल्याउनु छ । त्यही पनि सहज तरिकाले ल्याउन पाईंदैन ।’ 

राष्ट्रिय बाजा भएर पनि सरकारले मादल लोप होला भनेर त्यति धेरै चासो नदेखाएको उनको भनाइ छ । ‘ल्याउन त दिएकै छ तर गैह्रकानुनी भन्दै दुःख खेप्नु परेको छ ।’ छालाको समस्याले गर्दा पनि बाजा नै लोप होला भन्ने डर भएको उनको भनाइ छ । ‘छाला ल्याउँदा छुट पूर्जी हुँदैन । विकट गाउँका ती बुढापाकाले कहाँबाट छुट पूर्जी दिउन्’ उनले भने । 

एक पटक आफूले प्रहरीलाई पसलमै ल्याएको उनले सुनाए । ‘प्रहरीले बाटोमा छाला रोकिदियो । पच्चिस सयमा किनेर गोरखाबाट ल्याएको थिएँ । प्रहरीले गैह्रैकानुनी काम भन्दै दुःख दिन थाल्यो । मैले उहाँहरुलाई मेरो पसलमै जाऊँ मैले त यो छाला लगेर मादल बनाएर आफ्नै संस्कृतिको जगेर्ना गर्दैछु भने । पसल देखाएपछि प्रहरीले बल्ल छाला ल्याउन दियो ।’ उनले भने ।

मादल व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई बिना रोकतोक छाला ओसारपोसार गर्न दिनुपर्ने उनको माग छ । ‘लगानीको लागि बैंकमा क्रण माग्न जाँदा मादल बेचेर कति कमाउँछस् र तिर्छस भन्ने जस्ता कुरा गर्छन् ।’ उनले भने । सरकारबाट लोकबाजा बनाउने हरुलाई अनुदान पनि आउनु पर्ने उनको भनाइ छ ।
‘होइन भने यही वातारणमा अबको पुस्ताले यो व्यवसाय अपनाउला जस्तो मलाई लाग्दैन । म मेरो सन्तानलाई मेरा पुर्खाले गर्दै आएको काम नगर बाबु भन्न बाध्य हुनेछु’ उनी मलिन अनुहार बनाउँदै भन्छन् ।

नारायणगढको पुतलीबजारमा मादल र आधुनिक बाजाको व्यापार गर्दै आएका आशीष भट्टले बाजाको व्यवसाय राम्रै भएको बताए ।

‘मादल भनेको चाडपर्वमा बिक्छ’ उनले भने । सिजनको बेला मादलको व्यापार राम्रो भएको उनले बताए । ‘३५ वर्षदेखि बुवाले यही पसल गर्दै आउनु भएको थियो । पछि मैले यो पसल हेरें । बुवाले अर्काे पसल खोल्नु भएको छ’ उनले सुनाए ।

पुतलीबजारमै मादललगायतका बाजाको व्यापार गर्दै आएका अर्का व्यापारी नारायणकाजीले यस वर्ष खासै मादल नबिकेको बताए ।

‘मादल फाट्टफुट्ट बिकेको छ । विगतको तुलनामा बिक्री कम छ । अहिले मादल बेच्ने पसलहरु धेरै खुलेर पनि होला, मादलको व्यापारमा कमी आएको’ उनले भने ।

प्रतिक्रिया दिनुहोस