साकार हुँदै वाग्मतीमा स्वच्छ पानी बगाउने सपना

रासस

शनिबार, ०२ कार्तिक २०७६, १९ : ४७
साकार हुँदै वाग्मतीमा स्वच्छ पानी बगाउने सपना

–रमेश लम्साल 

काठमाडौं । नेपाली सभ्यताको परिचायकका रुपमा रहेको वाग्मती नदी मानवीय अतिक्रमणका कारण ढलमा रुपान्तरण भएको भन्दै चौतर्फी आलोचना भई नै रहन्थ्यो । मानवीय अतिक्रमणलाई रोक्नेतर्फ यसअघि खासै प्रयास पनि भएको थिएन । ‘कुराले चिउरा भिज्दैन’ भन्ने नेपाली उखान जस्तै वाग्मतीको सुधारका लागि भाषण होइन काम जरुरी थियो । 

वास्तवमै काम गर्ने सोच राख्दै काठमाडौँवासीमा जनचेता जगाउनसके वाग्मतीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने चाहना मुखरित हुनु आवश्यक थियो । केही वर्षदेखि वाग्मतीमा सफाइ अभियान पनि नचलेको होइन तर त्यसले समस्या समाधानका लागि बीसको उन्नाइस मात्रै गर्न सक्यो । मुख्य कुरा वाग्मतीमा बस्तीबाट सिधै जोडिएको ढल नै प्रदूषणको प्रमुख कारण थियो । त्यसलाई नरोक्दासम्म जतिसुकै सुधारको काम गर्दासमेत त्यसले सफलता पाउने अवस्था थिएन । सफाइ अभियानले सार्थकता पाउने अवस्था पनि थिएन, किनकी मुख्य कारण अर्कै थियो । 

सरकारले त्यसका लागि नदीमा बहने पानी र ढलको छुट्टाछुट्टै प्रबन्ध गर्ने योजना बनायो । ढल व्यवस्थापन गरेपछि मात्रै वाग्मतीमा स्वच्छ पानी बगाउन सकिन्छ भन्ने ध्येयका साथ शुरु गरिएको परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । काठमाडौँको गुह्ेश्वरीमा निर्माणाधीन वाग्मतीको फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको सो आयोजनाका प्रमुख लीलाप्रसाद ढकालले जानकारी दिनुभयो । आयोजनाको काम आगामी पुस मसान्तस्म्म सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । 

आयोजना प्रमुख ढकालले भन्नुभयो, “हामीले फोहर पानी प्रशोधन केन्द्रको काम ९५ प्रतिशत सम्पन्न गरिसकेका छौँ । बाँकी काम आगामी पुस मसान्तभित्र सम्पन्न गरी वाग्मतीमा सफा पानी बगाउँछौँ ।” आयोजनाको पछिल्लो अवस्थाका बारेमा आज खानेपानी मन्त्री बीना मगर, सचिव माधव बेल्वासेलगायत टोलीले स्थलगत निरीक्षणसमेत ग¥यो । सरकारले केही गरेको छैन, केवल गफ मात्रै गरेर बसेको छ भनेर गरिने आलोचनाको जवाफसमेत गुह्येश्वरीमा निर्माण भइरहेको प्रशोधन केन्द्र पनि आफैँमा एउटा जवाफ हो । 

वाग्मतीसँग जोडिएको मानव सभ्यता र त्यसको सांस्कृतिक पक्षलाई जोगाउने लक्ष्यका साथ शुरु भएको परियोजना सम्पन्न भएपछि सो नदीमा पौडी खेल्न सकिने आयोजनाको विश्वास छ । स्थलगत निरीक्षणमा पुग्नुभएका मन्त्री मगरसहितको टोलीलाई आयोजनाबारे जानकारी गराउँदै आयोजना प्रमुख ढकालले भन्नुभयो, “प्रशोधन केन्द्रको काम सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिन्छ र वाग्मतीमा स्वच्छ पानी बग्न थाल्छ ।”

नेपालका मात्रै नभई विश्वका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको पशुपतिनाथ र आसपासका क्षेत्रमा समेत स्वच्छ पानी बहन थाल्ने र बिनाहिचकिचाहट पौडी खेल्न तथा नुहाउन सकिने उहाँको भनाइ छ । वाग्मतीको मुहार फेर्ने सरकारको लक्ष्यलाई एशियाली विकास बैंकले सहयोग गरेको छ । सो आयोजनाका लागि रु दुई अर्ब ५५ करोड खर्च गरिएको छ । आयोजना सम्पन्न भएपछि एक सेकेन्डमा ३९० लिटर फोहर पानी प्रशोधन गर्न सकिनेछ । त्यस आधारमा दिनभरमा तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन हुनेछ । 
 
यस्तै सोही आयोजनाको अर्को स्वरुपमा रहेको ऊर्जा उत्पादन कक्षबाट प्रतिघण्टा ३२० किलोवाट विद्युत्समेत उत्पादन हुनेछ । आयोजनाको अर्को पनि फाइदा रहेको छ । प्रत्येक दिन सात टन कम्पोस्ट मलसमेत उत्पादन हुनेछ । सो मलको प्रयोग गरेर खेती उब्जनी बढाउनसमेत सहयोग मिल्नेछ । कृषि पेशाका लागि उक्त प्रशोधन केन्द्रबाट उत्पादन हुने मल असाध्यै प्रभावकारी हुने विश्वास लिइएको छ । 

कम्पोस्ट मल अन्नबाली तथा तरकारीखेतीका लागि उपयुक्त हुने काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना प्रमुख सुरत बमले जानकारी दिनुभयो । यस्तै ग्यास उत्पादनका लागि पानी प्रशोधन केन्द्रमा ‘एनेरोबिक डाइजेष्टर’ जडान भएको छ । सो स्थानमा यसअघि निर्माण भएको पुरानो प्रशोधन केन्द्र र नयाँ अत्याधुनिक प्रशोधन केन्द्रबाट पानी प्रशोधन गरिनेछ । प्रशोधन भएको पानी पिउनयोग्य नभए पनि नुहाउनसम्म हुनेछ । 
    
यस्तै स्वच्छ पानी बग्न थालेपछि वाग्मतीमा माछा खेलेको हेर्ने काठमाडौँवासीको सपना पूरा हुनेछ । जलचर मानव समुदायका लागि नजिकको मित्र भएकाले त्यसको सङ्ख्यामा बढोत्तरी हुने विश्वास आयोजनाको छ । काठमाडौँका नदीबाट दैनिक १३ करोड लिटर पानी प्रशोधन गर्ने लक्ष्यका साथ काम भइरहेको मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिनुभयो । वाग्मतीको मुहान छेउ धापमा पानी सङ्कलन केन्द्र बनाइएको र हिउँदमा त्यो पानी नदीमा बगाइने तथा अन्य नदी सफाइका लागि पनि काम भइरहेको उहाँको भनाइ छ ।   

कामको गति र आयोजनाको प्रगति सुनेपछि खानेपानी मन्त्री मगरले खुशी हुँदै भन्नुभयो, “ऐतिहासिक महत्व बोकेको वाग्मती नदीलाई सफा राख्ने यो महत्वपूर्ण कामलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ । कुनै पनि हालतमा तोकिएको समयमा आयोजना पूरा हुनुपर्छ ।” उहाँले कुनै समस्या वा जटिलता भए त्यसलाई समाधान गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाउनुभयो । वाग्मती नदी सफाइका लागि सरकारले अभियान नै चलाइरहेको उल्लेख गर्दै मुख्य समस्याका रुपमा रहेको ढल प्रशोधन केन्द्रले सरकार र नागरिकको इच्छा पूरा हुने उहाँको भनाइ थियो । 
    
विगत चार वर्ष पहिलेदेखि शुरु भएको सो आयोजनाले गोेकर्णदेखि गुह्ेश्वरीसम्म पानी प्रशोधन गर्न सक्नेछ । यस्तै ललितपुरको धोबीघाट तथा बालकुमारीमा पनि पानी प्रशोधन केन्द्रको निर्माण थालिएको छ । धोबीघाटमा यो परियोजना लागि मात्रै ६०० रोपनी जग्गा प्रयोग गर्न लागिएको छ । धोवीघाटको योजना सम्पन्न गर्न झण्डै रु पाँच अर्ब बजेट लाग्नेछ । मन्त्री मगरले पशुपति क्षेत्रमा सफा पानी बगाउने सरकारको लक्ष्य सफल तथा नजिक पुगेको बताउनुभयो । “पशुपति दर्शन गर्न आएका बेला वाग्मतीमा नुहाउने सबै दर्शनार्थीको चाहना, हाम्रो परम्परा, हाम्रो आस्था र हाम्रो संस्कारसँग जोडिएको सांस्कृतिक तथा धार्मिक महत्वलाई जीवन्त राख्न सफल हुने क्रममा छौँ”, उहाँले भन्नुभयो, “वाग्मतीलाई प्राण भरिदिने र हाम्रो जन्मदेखि मृत्युसम्मको संस्कारलाई सहजीकरण गर्न हामी सफल हुनेछौँ ।” युद्धस्तरमा आयोजनाको काम भएकामा आफूलाई खुशी लागेको बताउँदै उहाँले पशुपतिमा आउने भक्तजनलाई सफा पानीको अनुभूति गराउनमा सफल हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस