तत्कालका लागि मन्त्री हेरफर हुँदैनः नेता शर्मा

रासस

विहीबार, ३० असोज २०७६, २१ : १७
तत्कालका लागि मन्त्री हेरफर हुँदैनः नेता शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले मन्त्रीहरुको हेरफेरबारे पार्टीभित्र छलफल भए पनि तत्काल हेरफर नहुने बताउनुभएको छ ।  

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा नेता शर्माले मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भए पनि कहिले पुनर्गठन गर्ने वा नगर्ने भन्ने निष्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकाले अहिले नै केही भन्न सकिने अवस्था छैन भन्नुभयो । नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पार्नुभयो । आलोपालोको कुरा उठे पनि अहिले त्यो सम्भावना नरहेको भन्दै उहाँले अहिले सरकारले धमाधम परिणाम दिन थालेकाले सरकारलाई अस्थिर बनाउन नहुने बताउनुभयो । 

नेता शर्माले सङ्घीय संसद्को सभामुख पद रिक्त रहेकाले छिटोभन्दा छिटो सभामुख निर्वाचित गरिने बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा सरकारले परिपक्व कूटनीति र व्यवहार प्रस्तुत गरेको भन्दै सरकारलाई बधाई दिनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य  मोहनबहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्नुभयो । नेता बस्नेतले चिनियाँ राष्ट्रपति सीको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको टिप्पणी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस