काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ शनिबार नेपाल आउँदै छन्। भारतको औपचारिक भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न ४ः३० देखि ५ः३० बजेबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन्। उनको स्वागतका लागि राष्ट्रपति भण्डारी विमानस्थल जाने कार्यक्रम छ। प्रधानमन्त्री केपी ओली पनि सीको स्वागतका लागि विमानस्थल जाने सम्भावना छ।
राष्ट्रपति सीको भ्रमणलाई केन्द्रमा राखेर नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थलदेखि सोल्टी होटल र त्यहाँदेखि राष्ट्रपति कार्यालयसम्मको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै अग्ला घरहरूमा शुक्रबारदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएको छ। सीको सवारीका बेला हेलिकोप्टरबाट समेत गस्ती गरिनेछ। राष्ट्रपति भण्डारीसँगको भेटघाटबाहेक सीका सबै कार्यक्रम होटल सोल्टीमा हुनेछन्।
चिनियाँ राष्ट्रप्रमुखको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो। सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए। राष्ट्रपति सी विमानस्थलबाट सिधै सोल्टी होटल पुगेर केही समय आराम गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास जनेछन्। भेटवार्ता साँझ ६ः३० का लागि तय गरिएको छ। भेटमा दुई देशीबीचको सम्बन्ध विस्तारका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि राष्ट्रपति भण्डारीले होटल सोल्टीमा आयोजना गर्ने रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी सहभागी हुनेछन्।
आइतबार बिहान १०ः३० बजे राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विभिन्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुनेछ। हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र सीबीच औपचारिक भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओली र सीबीच एकान्त वार्ता पनि हुने पराराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। परराष्ट्रका अनुुसार प्रधानमन्त्री ओलीसँगको भेटवार्ताअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार बिहान सीले भेट गर्ने कार्यक्रम छ। उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार साँझ नै भेटवार्ता गर्ने तय भएको छ। भ्रमण सकेर आइतबार दिउँसो १२ः३० देखि १ बजेको समयमा सी स्वदेश फर्कने कार्यक्रम छ।
राष्ट्रपति सीको भ्रमणमा नेपालले ठूला भौतिक पूर्वाधारमा सहयोगका लागि प्रस्ताव गर्ने र चिनियाँ पक्षले सुरक्षा चासोका विषयलाई विशेष प्राथमिकता दिनेछ। भ्रमणको सदुपयोग गर्दै दुवै पक्षले सकारात्मक सोचका साथ परियोजनाहरूको प्रस्ताव तयार पारेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए। उनका अनुसार केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण, काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग हुँदै रसुवाको स्याफ्रुबेंसीसम्म पुग्ने सडक पूर्वाधार निर्माणको प्रस्तावबारे पनि सम्झौता हुन सक्नेछ। आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ असोज २०७६, ०६ : ४१
लेखकबाट थप