अराजकता मच्चाउने गतिविधि नियन्त्रण गरिन्छ : दाहाल

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १२ : ३७
अराजकता मच्चाउने गतिविधि नियन्त्रण गरिन्छ : दाहाल

६४ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहाल । तस्बिर : सूर्यप्रकाश कँडेल/सफल खबर

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले जनतालाई भड्काउने, अराजकता मच्चाउने गतिविधिहरु नियन्त्रण गरिने बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले ६४ औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार भरतपुरमा आयोजना गरेको विशेष कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मेयर दाहालले यस्तो बताउनु भएको हो ।
‘जनतालाई भड्काउने खालका सामाजिक अपराधविरुद्ध हामीले प्रभावकारी काम गर्नेछौँ’ उहाँले भन्नुभयो, ‘समाजमा अराजकता मच्चाउने गतिविधिलाई नियन्त्रण गर्न संयमित भएर अगाडि बढेका छौं । विगतमा चितवन प्रहरीले देखाएको संयमता प्रशंसायोग्य छ ।’
आमनागरिकलाई भयरहित वातावरणमा बाँच्न पाउने अवस्था निर्माणमा प्रहरीलाई स्थानीय सरकारले सहयोग गर्ने उहाँको भनाइ थियो । मेयर दाहालले घरेलु हिंसा, विकृति, विसंगति, दुव्र्यसन र कुरीतिविरुद्ध समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रुपमा चलिरहेको बताउनु भयो ।
भरतपुर महानगरका टोलटोलमा अपराधविरुद्ध चलिरहेका अभियानहरु समय सान्दर्भिक भएको उहाँको ठम्याइ छ । चितवनमा पछिल्लो समय साइबर अपराधका गतिविधि देखिएका र यसलाई नियन्त्रण गरिएको उहाँको भनाइ थियो ।
प्रहरी उपरीक्षक दानबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सामाजिक कार्यकर्ता मीना खरेल, अमर प्रहरी परिवार संघ चितवनकी अध्यक्ष सरस्वती पौडेल, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२०१२ सालमा प्रहरी ऐनबाट नेपाल प्रहरी गठन भएको हो । देशभर करिब ७५ हजार जना प्रहरी कार्यरत छन् । चितवन जिल्ला अन्तर्गत सात सय ५० जना प्रहरी कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस