पाँच वर्षअघि नै मैले बार्सिलोना छाड्न लागेको थिएँ : मेस्सी

एजेन्सी

विहीबार, २३ असोज २०७६, ०८ : ५६
पाँच वर्षअघि नै मैले बार्सिलोना छाड्न लागेको थिएँ : मेस्सी

एजेन्सी । आफू र आफ्नो पितामाथि कर छलीको आरोप लागेपछि सन् २०१४ मा बार्सिलोना छाड्ने निर्णयमा पुगेको लियोनेल मेस्सीले खुलासा गरेका छन् ।

पाँच पटकका बालोन डि’ओर विजेतामाथि सन् २००७ र २००९ को बीचमा बेलिजे र उरुग्वेमा रहेका ट्याक्स हेभनको प्रयोग गरेर स्पेनलाई ४१ लाख युरो कर छली गरेको आरोप लगाइएको थियो ।

अन्ततः सन् २०१७ मा मेस्सीलाई यस मामिलामा दोषी पाइएको थियो र २१ महिना जेल र २० लाख युरो जरिवानाको सजाय सुनाइएको थियो । पछि उनको जेलको समयलाई २ लाख ५२ हजार युरो जरिवानामा परिणत गरिएको थियो ।

त्यस्तै उनको पितालाई पनि १५ महिना जेल र १५ लाख युरो जरिवानाको सजाय सुनाइएको थियो । पछि पुनरावेदनपछि उनको जेल सजाय कम गरिएको थियो ।

अहिले आएर मेस्सीले आफूमाथि कर छलीको आरोप लागेपछि स्पेन छाड्नेबारे सोचेको र केही क्लबहरुसँग पनि यस विषयमा कुरा गरेको बताएका छन् । यद्यपि, उनले कुनै क्लबबाट ठोस अफर भने प्राप्त गरेनन् ।

‘म बार्सिलोना होइन, स्पेन नै छाड्न चाहन्थे,’ आरएसी वानसँगको अन्तरवार्तामा मेस्सीले भनेका छन्, ‘ममाथि गलत व्यवहार भइरहेको भन्ने मलाई लागेको थियो र म यहाँ बस्न चाहँदिन थिए ।’

‘मेरा लागि धेरै क्लबहरुले ढोका खुला राखेका थिए तर कसैले पनि आधिकारिकरुपमा प्रस्ताव राखेनन् किनभने उनीहरुलाई थाहा थियो भित्री रुपमा म बार्सिलोनामा नै रहन चाहन्थेँ,’ उनले भने ।

‘सन् २०१३ र १४ मा कर छलीको बारे कुरा निस्कदा म र मेरो परिवारका लागि कठिन समय थियो । म कस्तो अवस्थाबाट गुज्रिरहेको थिएँ भन्ने कसैले अनुमान लगाउन सक्दैन थिए,’ मेस्सीले भनेका छन् ।

बार्सिलोनामा मेस्सीको भविष्यबारे अझै अन्यौलता कायम नै छ । बार्सिलोनासँगको उनको करारमा आफूले चाहेको खण्डमा बिना कुनै रकम क्लब छाड्ने सक्ने प्रावधान राखिएको कारण पनि मेस्सी नयाँ गन्तव्यको खोजीमा निस्कने त होइन भन्ने आशंकाहरु अझै पनि रहेका छन् ।

३२ वर्षीय खेलाडीले भने आफ्नो करियरको अन्त्य बार्सिलोनमा नै गर्ने बताउँदै आएका छन् । पछिल्लो दुई वर्षदेखि उनी क्लबको कप्तान पनि रहेका छन् । क्लबमा रहने इच्छा व्यक्त गरे पनि नयाँ करार सम्झौताबारे मेस्सीले क्लबसँग भने कुरा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस