भरतपुर महानगरपालिकाको वार्षिक समीक्षा

दिगो र आत्मनिर्भर विकासको गतिमा भरतपुर महानगरपालिका : सांसद दाहाल

#आन्तरिक आयमा वृद्धि #कृषि अनुदान एक करोड #पूर्वाधारमा खर्च ५७ प्रतिशत

सूर्यप्रकाश कँडेल

शुक्रबार, २७ भदौ २०७६, १५ : ३४
दिगो र आत्मनिर्भर विकासको गतिमा भरतपुर महानगरपालिका : सांसद दाहाल

चितवन । भरतपुर महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी शुक्रबार भरतपुर महानगरको सभाहलमा सम्पन्न भएको छ ।

समीक्षा गोष्ठीलाई सम्बोधन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर तीनका सांसद घनश्याम दाहाल अविनाशले भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिमा अगाडि बढिरहेको बताउनु भयो ।

उहाँले ठूला र रणनीतिक महत्वका पूर्वाधारलाई प्राथमिकतामा राख्न आग्रह गर्दै  कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सामाजिक विकासलाई एकीकृत ढंगले विकास गरेर लैजॉदा मात्र राष्ट्रले लिएको लक्ष हासिल गर्न सकिने बताउनु भयो ।

भरतपुर महानगर प्रमुख रनु दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसदद्वय कृष्ण भूर्तेल र मिलनबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, महानगर उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा चालु आर्थिक वर्ष २०७६/७७ को योजना समेटिएको वार्षिक कार्ययोजना किताब सार्वजनिक गरिएको थियो । 
महानगरपालिकाले गत आर्थिक वर्ष २०७५/७६ मा गरेका कामहरूको बारेमा महानगरपालिकाका विभिन्न महाशाखा प्रमुखहरुले जानकारी गराएका थिए । महानगर क्षेत्रमा कार्यरत अन्य सरकारी कार्यालयका प्रमुखहरुद्वारा कार्य प्रगति र भावी योजनाबारे जानकारी दिइएको थियो ।

आन्तरिक आयमा वृद्धि
भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा अनुमान गरेभन्दा करिब तीस करोड रुपैयाँ बढी आन्तरिक आम्दानी गरेको छ । 

राजश्व महाशाखा प्रमुख सिर्जना थपलियाका अनुसार, गत आवमा कूल एक अर्ब १७ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएकोमा एक अर्ब ४७ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको हो ।

कृषि अनुदान एक करोड
भरतपुर महानगरले गत आवमा कृषि प्रवद्र्धन अन्तर्गत ६५ लाख र दूध उत्पादनमा ३५ लाख गरी कूल एक करोड रुपैयाँ अनुदान वितरण गरेको छ । 

आर्थिक तथा सामाजिक विकास महाशाखा प्रमुख प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार, साना सिँचाईतर्फ ३० लाख, डीप बोरिङतर्फ १० लाख र बीउविजन आत्मनिर्भरताका लागि २५ लाख रुपैयाँ अनुदान दिइएको थियो । दूध उत्पादनतर्फ २५ पैसा प्रतिलिटरका दरले अनुदान दिइएको महानगरले जनाएको छ ।

थपिए नगर प्रहरी
गत आवमा भरतपुर महानगरपालिकाले ११ जना नगर प्रहरी थप गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले थप ११ जना नगर प्रहरी करारमा नियुक्त गरिएको जानकारी दिनुभयो । 

नगर प्रहरी व्यवस्थापन तालिम संचालन गरिएको जानकारी दिँदै उहाँले डेंगु नियन्त्रणका लागि सहकार्यात्मक सकृयता बढाइएको बताउनु भयो ।

पूर्वाधारमा खर्च ५७ प्रतिशतमात्रै
भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा पूर्वाधार विकास क्षेत्रतर्फ ५७ प्रतिशतमात्रै खर्च गरेको छ ।

पुँजीगततर्फ कुल विनियोजित बजेट एक अर्ब २९ करोड २२ लाख ४० हजार रुपैयाँ रहेकोमा ७३ करोड ९२ लाख ७० हजार रुपैयाँमात्र खर्च भएको थियो । कुल एक सय ६६ वटा नगरस्तरीय योजना रहेकोमा ४० वटामात्र सम्पन्न भएको भरतपुर महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस