जापानमा ‘विदेशी’ भनेपछि नेपाल फर्केर होटलमा लगानी

मंगलबार, २४ भदौ २०७६, १३ : २६
जापानमा ‘विदेशी’ भनेपछि नेपाल फर्केर होटलमा लगानी

चितवन । लामो समय जापान बसेर नेपाल आएका भरतपुरका युवा उद्यमी रामप्रसाद गैरेले होटलमा लगानी गरेका छन् ।

विगत १३ वर्षदेखि जापानमा होटल व्यवसाय गरेको अनुभवलाई गैरले स्वदेशमै खनाउने लक्ष्य राखी होटलमा लगानी गरेका हुन् ।

उनले भरतपुर ९ शरदपुरस्थित बोस्टन कलेज रोडमा सात करोडको लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याएका छन् । ‘म १३ वर्ष जापान बसेको छु, जतिबेला मलाई त्यहाँ ‘विदेशी’ भनियो, त्यसपछि स्वदेश फर्कने सोच बनाएँ’ गैरेले भने, ‘सुरुमा परिवार स्वदेश पठाएँ, पछि म आफैँ आएर होटल क्षेत्रमा लगानी गरेको छु ।’

जापानमा उनका होटलहरु छन् । उनी भन्छन्, ‘सधैँभर विदेश बसेरमात्र हुँदैन, स्वदेशमै केही गरौँ भन्ने मनसायले यहीँ फर्केर होटल क्षेत्रमा लगानी गरेको हुँ ।’ यो उनको दसौँ होटल हो ।

होटलमा १५० जना अट्ने सेमिनार हल, सुविधा सम्पन्न डिलक्स कोठाहरु छन् । होटलमा दुई हजारदेखि तीन हजारसम्मका डिलक्स कोठाहरु छन् । होटलमा नेपालीलगायत विदेशी खानाको परिकारहरु पाइन्छ ।  

दुई कठ्ठा जमिनमा फैलिएको होटलमा २५ जनालाई रोजगार प्रदान गरिएको सञ्चालक गैरेले बताए । प्रशस्त पार्किङ क्षमता रहेको यस होटलमा विदेशको सीप र लगानी खर्चेको उनी बताउँछन् ।

उनका अनुसार लामो समय होटलमा काम गरेका अनुभवी कर्मचारीहरु होटलमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस