गाईपालनबाट मासिक एक लाख आम्दानी

विहीबार, १८ माघ २०७४, १६ : ३७
गाईपालनबाट मासिक एक लाख आम्दानी

पाल्पा । तानसेन नगरपालिका–१४ अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बन्नुभएको छ । गैरेले गाईपालन व्यवसायबाट मासिक रु एक लाख आम्दानी गर्दैआउनुभएको छ । हाल उहाँसँग १५ वटा जर्सी गाई रहेका छन् । गैरेले दैनिक ८० लिटर दूध बिक्री गर्दैआउनुभएको छ ।

गैरे पूर्व माओवादी लडाकू हुन् । उहाँले स्वेच्छिक अवकाशका क्रममा प्राप्त गर्नुभएको रु पाँच लाख रकमबाट अर्गलीमा गाईपालन गर्न थाल्नुभएको हो । पाँच वर्षको अवधिमा रु १५ लाखभन्दा बढी लगानी गरिसकेको गैरेले बताउनुभयो ।

तानसेन नगरपालिकाको गाईघाटमा अहिले १७ रोपनी जग्गामा गैरेले गाई फार्म सञ्चालन गर्नुभएको छ । दुई रोपनीमा गाई फार्म तथा अन्य जमिनमा उहाँले घाँसखेती गर्दै आउनुभएको छ । उहाँले वार्षिक रु ३६ हजार भाडा तिर्नुहुन्छ । गाईपालन व्यवसायमा आकर्षण पछिल्ला वर्षमा बढ्दै गएपनि यो पेशा चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ ।(रासस)

प्रतिक्रिया दिनुहोस