आज सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०८२, ०७ : ४८
आज सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा हामी बसोबास गर्दै आएको उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस दिनलाई खगोल विज्ञानको भाषामा शीत अयनान्त (Winter Solstice) भनिन्छ ।

पृथ्वी आफ्नै धुरीमा करिब २३.५ डिग्रीले ढल्किएको अवस्थामा सूर्य वरिपरि परिक्रमा गर्ने भएकाले वर्षभरि दिन र रातको लम्बाइमा फरक पर्न जान्छ । डिसेम्बर २१ का दिन सूर्य दक्षिणी गोलाद्र्धतर्फ सबैभन्दा बढी ढल्किने भएकाले उत्तरी गोलाद्र्धमा सूर्यको उपस्थितिको समय सबैभन्दा कम हुन्छ । यही कारण आज दिन छोटो र रात सबैभन्दा लामो हुन्छ ।

खगोलविद्हरूका अनुसार, आजपछि सूर्य क्रमशः उत्तरतर्फ सर्दै जाने हुँदा भोलिदेखि दिन लम्बिँदै र रात छोटिँदै जाने प्रक्रिया सुरु हुन्छ । यो परिवर्तन क्रमशः हुँदै जाने भएकाले सुरुमा खासै महसुस नहुने भए पनि केही सातापछि दिन लामो हुँदै गएको स्पष्ट देखिन थाल्छ ।

परम्परागत रूपमा पनि आजको दिनलाई मौसम परिवर्तनको सङ्केतका रूपमा लिने गरिन्छ । यसपछि जाडो याम विस्तारै कमजोर हुँदै जाने र वसन्ततर्फको यात्रा सुरु भएको मानिन्छ । विभिन्न सभ्यता र संस्कृतिहरूमा आजको दिनलाई विशेष महत्वका साथ मनाउने चलन पनि रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस