सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीको टिप्पणी : ‘हामी सबैको आलोचना खेप्ने अचानो होइनौँ’

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०८२, १९ : ३७
सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीको टिप्पणी : ‘हामी सबैको आलोचना खेप्ने अचानो होइनौँ’

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गरेकी छिन् ।

सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारमाथि अहिले जेन जेड, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको बताइन् । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरूले सहिरहेको बताइन् ।

मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरू खेप्न आफूहरू तयार रहेको उनले बताइन् ।

‘मैले त के देखिरहेको छु भने, मैले भन्न नहुने हो, हामी त अचानो होइनौँ नि । हिजो जे त्रुटि भए, जे गल्ती भए, जेको परिणामबाट २३ र २४ भयो, त्यो आवेगलाई हामी झेलिरहेका छौँ । आज हामी आलोचनाको पात्र जेन-जीबाट पनि भएका छौँ, राजनीतिक दलबाट पनि भएका छौँ । हामी अचानो त होइनौँ । हामीले जे खेप्नुपरिरहेको छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमको आक्षेपहरू खपिरहेका छौँ, त्यो तयार छौँ, किनभने मुलुकको निम्ति,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

राजनीतिक दल देशको लागि सर्वेसर्वा नभई सबैभन्दा पहिला जनता हुने उनको भनाइ थियो । राजनीतिक दलहरू जनताको सेवा गर्न बसेको उनको भनाइ छ ।

‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठुलो महान् भनेको जनता हो । राजनीतिक दलहरू भनेको दोस्रो कुरा हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘राजनीतिक दलहरू जनताको सेवा गर्न बसेको हो । जनता के चाहन्छन् ? अहिलेको भावना के हो ? भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो । नाबालकहरू मारिए । त्यसले जनतामा प्रभाव परेको छ ।’

प्रधानमन्त्री कार्कीले आफूहरू जेन–जीका रगतमा ऐस आराम गर्न नआएको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस