भ्वाइस अफ नेपाल : आस्था राउतको बच्चापारा

पत्रपत्रिकाबाट

शुक्रबार, २० भदौ २०७६, २१ : १४
भ्वाइस अफ नेपाल : आस्था राउतको बच्चापारा

काठमाडौँ ।  ‘भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसन अगाडि बढेसँगै नयाँ नयाँ प्रतियोगि आउनेक्रम जारी छ । जजहरुविच राम्रा प्रतियोगिलाई आफ्नो समूहमा ल्याउन तछाडमछाड जारी छ ।

प्रतियोगि फकाउने मामिलामा जज प्रमोद खरेल सबैभन्दा अगाडि नै छन् । पाँचौं एपिसोडसम्म आइपुग्दा राजु लामाको समूहमा पनि राम्रा प्रतियोगिहरु थपिए । अर्का प्रतियोगी दीप श्रेष्ठको समूहमा पनि राम्रा प्रतियोगि आइरहेका छन् । कोच आस्था राउतको बच्चापारा पाँचौ एपिसोड आइपुग्दा पनि सुधारिएको देखिएन । आफ्नै गीत गाउने प्रतियोगिले समेत उनलाई रोजेनन् ।

पाँचौँ एपिसोडको पहिलो प्रतियोगी सञ्जय महतले ‘चौबन्दी चोलो’ गाए । उनले गाउँदै गर्दा पहिलो कुर्सी कोच प्रमोद खरेलको घुमेको थियो भने दोस्रोमा राजु लामाको । त्यसपछि क्रमशः आस्था र दीपले पनि उनको प्रस्तुति रुचाए । कोच दीपले मीठो गीत गाएको भन्दै आफ्नो टिममा आउन आग्रह गरे भने आस्थाले पावरफुल भ्वाइस भन्दै बोलाइन् । आस्थाले सञ्जयलाई लोभ्याउन भनिन्, ‘तपाईंको भ्वाइस सुनेर कुर्सी नघुमाई बस्नै सकिनँ ।’

उता कोचका प्रमोदले भने सबैभन्दा पहिला आफूले उनलाई रोजेको हुनाले सञ्जयले आफूलाई छान्नु पर्ने जिरीह गरे । तर उनले राजुलाई रोजे । 

यसपछि लक्ष्मण महतोले ‘बैंशको माया पैसाको छेउमा बाचा कसम भुल्दा रहेछन्’ बोलको गीत गाए । उनको प्रस्तुतिमा कुनै कोचका कुर्सी घुमेनन् । निराश भएका लक्ष्मण कोचको आदर्श गफ सुनेर स्टेजबाट बाहिरिनु पर्यो । खासगरी लक्ष्मणको सुर त लागेको थिएन नै टाइमिङ पनि छाडेका कारण कोचहरुको कुर्सी घुमेन । 

यस्तै नविना जोशीले ‘तिम्रो मायामा’ बोलको गीत गाएकी थिइन् । उनको भ्वाइसलाई कोच आस्थाले मात्र रुचाइन् । अन्य कोच उनको भ्वाइसका लागि प्रेमिल देखिएनन् ।अर्की प्रतियोगी शिवा गिरीले ‘माया नमार है माया नमार’ बोलको गीत गाएकी थिइन् । उनले कोच दीपको कुर्सी मात्र घुमाउन सकिन् ।

यसैगरी प्रतियोगी कमल बिष्टले स्टेजमा ‘उदासी भयो’ गीत गाए । शास्त्रीय संगीत प्रस्तुत गरेका उनले चारै कोचलाई आफूतर्फ फर्काए । कमल बिष्टलाई कोच प्रमोदले लोभ्याए ।

प्रतियोगी अनुषा आचार्यले ‘टाढा टाढा जानुछ साथी, एकफेर हाँसिदेऊ’ गाएकी थिइन् । उनलाई कोच राजुले स्टेजमा नै गएर अंकमाल गरे । उनले राजुको कोचिङ स्वीकारिन् । 

पहिलो सिजनमा असफल भएका करण लामाको दोस्रो प्रयास भने सफल भयो । पहिलो सिजनमा कसैको कुर्सी घुमेको थिएन । यो पालि उनले ‘कोमल त्यो तिम्रो वदनमा’ बोलको गीत गाउँदा कोचहरुले रुचाए । चारै कोचको कुर्सी घुम्यो । कोच राजुले स्टेजमै पुगेर अंकमाल गरे । कोच आस्था पनि स्टेजमै पुगेर घुँडा टेकेर नै आफ्नो कोचिङ स्वीकार्न आग्रह गरिन् तर उनले राजुलाई रोजे । आस्था फेरि हिस्स ।  
छैटौँ एपिसोड पनि कम रोचक बनेन ।   

प्रवेश खतिवडाले ‘हे बरै, आमाले सोध्लिन्’ गाएर सबै कोच आफूतिर फर्काउन सफल भए । गन्धर्व गीतलाई राम्ररी गाएको भन्दै सबैको प्रशंसा पाए । उनले प्रमोदलाई रोजे ।

सविना राईले कोच आस्थाको बहुचर्चित गीत ‘चौबन्दीमा पटुकी’ गाएकी थिइन् । आफ्नै गीत राम्रो गाएका कारण कोच आस्थाले उनलाई स्वीकारिन् । अन्य तीन वटा कुर्सी भने उनका लागि घुमेनन् । 

ऐश्वर्य राईले ‘जीवनमा’ बोलको गीत गाएकी थिइन् । उनको प्रस्तुतिले कुनै कोचलाई पनि तान्न सकेन । कोचका कुर्सी घुमाउन असफल ऐश्वर्यले आफूले नोट र टाइमिङमा गाउन नसकेको भन्दै सहजै कमजोरी स्वीकारिन् । उनी यो अडिसनबाट फालिए पनि निर्धक्कका साथ अरुलाई सम्झाउँदा कोच नै चकित परेका थिए । अन्य प्रतियोगीलाई सम्झाएर पठाउनु पर्नेमा ऐश्वर्यले आफ्नो कमजोरी स्वीकार गर्दै उल्टै कोचलाई सम्झाएर अडिसनबाट बाहिरिएको दृश्य रोचक थियो ।

‘छेकिएको नदी हेर’ गाउने सदीक्षा पोखरेलको गायकीले दुई जना कोचलाई फर्काउन सफल भयो । कोच प्रमोद र कोच राजुको कुर्सी उनीतर्फ फर्किए ।  प्रमोदलाई उनले कोच स्वीकारिन् ।

यसबीच हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुतिले केही मनोटोनस वातावरणलाई रमाइलो बनाएको थियो । उनले ‘के भुल भयो प्रिय’ गाएका थिए । तर कुनै कोचको कुर्सी घुमेन । उनको मुहार अमिलो देखियो । 
यसपछि प्रतियोगी कुमार गुरुङले ‘फूल बुट्टे साडीमा’ गाए । उनको स्वरबाट दुई जना कोच आस्था र राजु उनीतर्फ घुमे पनि प्रशंसा भने सबै कोचको पाए । उनले कोच राजुलाई छनोट गरे ।

अन्तिम प्रस्तुतिका रुपमा डम्बर हिङमाङले ‘यो जिन्दगीले के गर्यो के गर्यो’ गाए । उनको गायिकीले कोच दीप श्रेष्ठ प्रफुल्ल भए । उनी अघिल्लो पटक भ्वाइस अफ नेपालमा सहभागी भइसकेका रहेछन् । उनको गायकीबाट प्रशन्न आस्थाले स्टेजमै पुगेर अँगालो मारेकी थिइन् । तर दोस्रो अंकमाल पनि काम लागेन । उनले कोच दीपलाई छाने । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस