कुश्मामा कन्दमूल खेती

विहीबार, १८ माघ २०७४, १४ : ४६
कुश्मामा कन्दमूल खेती

फलेवास, पर्वत  । कृषिमा विभिन्न प्रविधि र अन्य बालीनालीको विकास भएसँगै हराएको कन्दमूल खेती यहाँ पुनः शुरु गरिएको छ ।
कुश्मा नगरपालिका– ७ खरेहामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु गरिएको हो । बजारमा तरुल, भ्याकुर, गिठा, वनतरुलजस्ता तरकारीको माग बढ्दै गएपछि कन्दमूल खेती थालिएको हो ।

चालू आवमा रु १० लाख विनियोजन गरी कन्दमूल खेती विस्तार गर्न लागिएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । कन्दमूल खेती गर्न इच्छुक किशानलाई संगठित गरी यसवर्ष छ क्विन्टल कन्दमूलको बीउ वितरण गरिएको उहाँले बताउनुभयो । प्रतिकृषक पाँच किलोदेखि १० किलोसम्म ८० जनाभन्दा बढी कृषकलाई तरुल, वनतरुल, भ्याकुर, गिठाजस्ता कन्दमूलको बीउ वितरण गरिएको हो ।

सदरमुकाम कुश्माबजारसँगै जोडिएको वडा नं ७ मा प्रशस्त पाखो बारी र खाली जमिन रहेकाले त्यसको उपयोग गरी आम्दानी गर्न सकिने देखिएपछि सो खेती शुरु गरिएको हो । एउटा कृषकले रु एक लाखदेखि रु चार लाखसम्म आम्दानी गर्न सक्ने कुश्मा नगरपालिकाका कृषि अधिकृत सोनी राना बताउनुहुन्छ ।

बजारको समस्या नहुने कन्दमूल खेती समूहका अध्यक्ष बालकृष्ण शर्माले बताउनुभयो । अहिले रोपिएको १० किलोबाट एउटा कृषकले पहिलो वर्षमै रु एक लाखभन्दा बढी आम्दानी गर्न सक्ने उहाँले बताउनुभयो । नगरका अन्य वडा र अन्य गाउँपालिकाले समेत कन्दमूल खेती शुरु गर्ने योजना बनाएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस