यस्ता व्यक्तिलाई हुनसक्छ स्तन क्यान्सर, ८८ प्रतिशत अस्पताल जाँदैनन्

मंगलबार, १४ कार्तिक २०७४, २१ : ०५
यस्ता व्यक्तिलाई हुनसक्छ स्तन क्यान्सर, ८८ प्रतिशत अस्पताल जाँदैनन्

 क्यान्सर अन्य रोग भन्दा फरक र जटिल रोग भएको चिकित्सकहरु बताउँछन्  । क्यान्सरको समयमै उपचार नगरिए जीवनभर समस्या भोगिरहनु पर्छ भने कतिको त अकालमै ज्यानै जाने सम्भावना रहन्छ ।  

क्यान्सर मध्येको एक स्तन क्यान्सर महिलामा हुने समस्या हो । चिकित्सकको भनाई अनुसार सामान्यतया ४० वर्ष कटेपछि मात्रै यो  समस्या देखिन्छ । तर, पछिल्लो समय नेपालमा स्तन क्यान्सर तोकेको उमेर भन्दा कम उमेरका महिलामा समेत देखा पर्न थालेको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्तन क्यान्सरको उपचार गराउन आउनेको संख्यामा बृद्धि भएको देखिन्छ । अस्पतालले जनाए अनुसार सन् २०१५ मा ८ हजार २ सय ८२ जना महिलाले स्तन क्यान्सरको परीक्षण गराएका थिए । त्यस मध्ये २९९ जनाले क्यान्सरको अपरेशन भएको थियो ।  यस्तै सन् २०१६ मा ९ हजार ९ सय ७६ जना बिरामीले स्तन क्यान्सरको परिक्षण गराएका थिए भने ३ सय ५५ जनाको अपरेशन गरिएको थियो । दुई वर्षको अवधिमा यही संख्यालाई आधार मान्ने हो भने १ हजार ६ सय ९४ जना बढेको देखिन्छ । अपरेशन गराउने  पनि ५६ जना बढी रहेका छन् ।

ढिला विवाह र स्तनपान नगराउनु

३० वर्षको उमेरदेखि नै स्तन क्यान्सर लाग्ने महिलाहरुको संख्यामा बृद्धि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्ने हो भने विश्वमा ४२ प्रतिशत यूवा उमेरका महिलालाई स्तन क्यान्सर भएको देखिन्छ । वंशाणुगत स्तन क्यान्सर जुनसुकै उमेरमा देखिन सक्छ । तर ढिला अर्थात ३० वर्ष पछि विवाह,बच्चा जन्माउने, बच्चालाई स्तन क्यान्सर नगराउने महिलालाई स्तन क्यान्सरको हुने बढी संम्भावना देखिन्छ  ।

क्यान्सर चिकित्सक डाक्टर जया जोशीका अनुसार अन्य देशको अनुपातमा नेपालमा ४० भन्दा कम उमेरमा स्तन क्यान्सर हुने महिलाहरुको संख्या धेरै रहेको छ  । १० देखि १२ प्रतिशत क्यान्सर रोगीमात्रै अस्पतालमा आउँछन् । अरु ८८ प्रतिशत अस्पताल आउन सकेका छैनन् । नेपालकै क्यान्सरको अवस्थाको बारेमा कुरा गर्ने हो भने वर्षमा ५० हजार नयाँ बिरामी फेला पर्ने गरेको छ ।

यस्ता व्यक्तिलाई हुनसक्छ स्तन क्यान्सर
नेपालबाट वैदेशिक रोजगारीमा जाने महिलाहरुमा स्तन क्यान्सर हुने बढी सम्भावना हुन्छ । डा. जोशीको अनुसार नेपालबाट बाहिर जाने महिलामा ऋणको तनाव, मासु, वियर, अण्डा धेरै खाने, एउटै कोठामा धेरै जना सुत्ने र बढी तापक्रममा काम गर्ने हुँदा स्तन क्यान्सर हुने धेरै सम्भावना हुन्छ ।  

पछिल्लो समय स्तन क्यान्सरको संख्या बढ्नुको मुख्य कारण भनेको धुम्रपान र मध्यपानलाई समेत लिने गरिन्छ । स्तन क्यान्सर भएकामा  धुम्रपान गर्ने महिलाहरु धेरै रहेका छन् । जति सानो उमेरमा चुरोट खान सुरु गर्यो त्यती छिटो स्तन क्यान्सर हुने चिकित्सकहरु बताउँछन् ।

शिक्षित समुदायको व्यक्तिले पनि सान र देखावटीको लागि चुरोट खाने गरेका छन् । महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी  साधन पिल्स लामो समय खाँदा पनि समस्या निम्तन सक्छ ।  

वर्षेनी ८ हजारको मृत्यू
क्यान्सरकै कारण नेपालमा वर्षेनी ८ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्री खड्काका अनुसार मृत्यूको संख्या वार्षिक बढ््दै गईरहेको छ ।

रोग लागेको पहिलो र दोश्रो चरणमा अस्पतालमा स्वास्थ्य परिक्षण नियमित औषधि र हेरचाह गर्ने हो भने स्तन क्यान्सर कम गराउन सकिन्छ । तर नेपालका धेरैजसो महिलाहरु उपचारनै हुन नसक्ने अवस्थामा मात्रै अस्पताल पुग्दा मृत्यू हुनेको संख्या पनि बार्षिक रुपमा बढ्दै गइरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस