१६ दिनपछि नेकपा सचिवालय बैठक आज बस्दै

स्कुल लगायत ३२ ओटै विभागको नेतृत्व टुंगो लगाउँदै देशब्यापी राष्टिय जागरण अभियान चलाउने तयारी

सफल खबर संवाददाता

बुधबार, २९ साउन २०७६, ०९ : ३८
१६ दिनपछि नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा सचिवालय बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउसो ३ बजे बस्न लागेको बैठकले पार्टीका केन्द्रीय विभाग लगायतका विषयमा टुंगो लगाउँदै छ ।

त्यति मात्र होइन, पार्टीका एकता सम्बन्धि केन्द्रीय निकायले टुंगो लगाउनु पर्ने सबै काम छिनोफानो लगाएर भदौै १५ गतेबाट राष्टिय जागरण अभियान चलाउने योजना नेकपाले बनाउँदैछ ।

यो बैठक १३ साउनपछि १६ दिनपछि आज बस्न लागेको हो । हिजो नै बैठक बस्ने भने पनि नेताहरुको गहृकार्य नपुगेको कारण बैठक आजलाई सारिएको थियो ।

१३ गते कार्यविभाजन गर्न बाँकी नेताहरुको रुची प्राथमिकताका आधारमा बुझेर प्रस्तावलाई परिमार्जन र व्यवस्थित गर्न महासचिव विष्णु पौडेललाई सचिवालय बैठकले निर्देशन गरेको थियो ।

त्यसपछि दुवै अध्यक्ष विदेश गएका थिए । ओली सोमबार स्वदेश फर्केपछि नेताहरु आजको बैठकका लागि आन्तरिक तयारीमा छन् ।

मुख्य विवाद रहेको स्कुल विभाग नेकपामा कसले पाउँला भन्ने सर्वत्र चासो छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलले उक्त विभागको नेतृत्व दाबी नछोडेपछि विवाद निम्तेको थियो । जसकाकारण नेकपाले विभागको नेतृत्व टुंगो लगाउन सकेको थिएन ।

आजको बैठकले भने स्कुल विभाग लगायत सवै विभागको नेतृत्व टुंगो लगाउने नेकपाले जनाएको छ । तर त्यो विभागको नेतृत्व कसले पाउला ? यो विषयमा दुई अध्यक्षले गृहकार्य गरेपनि केही खुलाएका छैनन् । त्यसका लागि चार ओटा विकल्पमा छलफल चलेको छ ।

पहिलो, नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलबाटै निर्णय गरेर एक जनालाई दिने, दोश्रो झलनाथ खनाललाई दिने, तेश्रो स्थायी समिति सदस्यबाट कुनै अर्काे नेतालाई दिने या चौथो अध्यक्षले नै लिने गरी एउटा विकल्पमा निर्णय लिने तयारी नेकपाको देखिन्छ ।

महासचिवले कुल केन्द्रीय समिति (४४१) मध्ये कार्यविभाजन गर्न बाँकी १६६ नेताहरुको कार्यविभाजनका लागि उनीहरुको रुची बुझेर तयार पारेको परिमार्जित कार्यविभाजन प्रस्ताव तयार पारेको र त्यो आजको सचिवालय बैठकमा प्रस्तुत गर्नेछन् ।

पार्टीका ३२ विभाग, एउटा नीति अध्ययन प्रतिष्ठान, उपत्यका विशेष प्रदेश, प्रवास कमिटि देखि २२ जनसंगठनको फ्याक्सन इन्चार्जमा नेताहरुको कार्यविभाजन गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस