चितवन विषेश

अस्पताल विकास समिति कर्मचारी युनियन महाधिवेशनको संघारमा

बुधबार, १७ माघ २०७४, १३ : ३६
अस्पताल विकास समिति कर्मचारी युनियन महाधिवेशनको संघारमा

चितवन । अस्पताल विकास समिति कर्मचारी युनियनको महाधिवेशन माघ १९, २० र २१ गते भरतपुरमा हुने भएको छ ।युनियनले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी दिएको हो । युनियनका कार्यवाहक अध्यक्ष सञ्जय बरालले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा हुने महाधिवेशनको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. तारा पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले तीन दिनसम्म चल्ने महाधिवेशनले केही सैद्धान्तिक विषय र आफूहरुको मागको विषयमा विशेष नीति पास गर्नुको साथै नयाँ नेतृत्व चयन गर्ने जानकारी दिनुभयो ।

युनियनका कार्यवाहक अध्यक्ष बरालले विकास समितिमा कार्यरत कर्मचारीहरुलाई समायोजनमा बेवास्ता गरिए आन्दोलनमा जाने चेतावनी दिनुभयो । सरकारले विकास समितिलाई स्थानीय निकायमा जान निर्देशन दिइसकेको अवस्थामा आफूहरुको उपयुक्त समायोजन हुनुपर्ने कार्यवाहक अध्यक्ष बरालले माग गर्नुभयो । उहाँले लामो समयसम्म दरबन्दी अनुसारको पदपुर्ती नभएको भन्दै तत्काल पदपुर्ती गर्न माग गर्नुभयो ।

महाधिवेशनमा देशभरबाट ४० वटा विकास समितिका ४ सय जना प्रतिनिधिको सहभागिता रहने युनियनका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद दवाडीले बताउनु भयो । युनियनमा हाल देशभरका ३५ वटा विकास समितिका कर्मचारीहरु आवद्ध छन् । देशभरमा कुल ६५ वटा अस्पताल विकास समिति रहेका छन् । अन्य विकास समितिका कर्मचारीलाई पनि युनियनमा आवद्ध गराउने प्रयास भइरहेको युनियनका जिल्ला उपाध्यक्ष विष्णुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

महाधिवेशनले १७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । यसपटक नयाँ विधान अनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सातै प्रदेशको रहने गरी सात जना उपाध्यक्ष, एक जना महासचिव र एक जना कोषाध्यक्ष रहनेछन् । बाँकी ६ जना सदस्य रहने युनियनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस