विदेशमा पैसा रहेको प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौति

क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न गरिएको अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारको भत्र्सना र खण्डन

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, १० : १०
विदेशमा पैसा रहेको प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौति

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्डको दुबई भ्रमणका बारेमा गरिएको तथ्यहिन र भ्रामक कुप्रचारको भत्र्सना गरेको छ ।

अध्यक्ष प्रचण्डको १४ देखि १८ साउनसम्मको नितान्त पारिवारिक दुबई भ्रमणका विषयलाई लिएर केही सञ्चारमाध्यमले अनावश्यक कुप्रचार गर्न थालेपछि सचिवालयले आज एक विज्ञप्ती जारी गर्दै खण्डन गरेको हो ।

अध्यक्ष प्रचण्डका प्रमुख स्वकिय सचिव जोगबहादुर महराले स्वर्गीय प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गरेर देखाउन समेत चुनौति दिएका छन् । केही कुन्सित मनसाय भएका सञ्चारमाध्यमहरुले अध्यक्षको दुबई भ्रमण र ब्यक्तिगत जीवनलाई बदनाम गराउन उद्धत रहेको भन्दै लगाईएका आरोपको पुष्टि गरेर देखाउन प्रमुख स्वकिय सचिव महराले चेतावनी दिएका छन् ।

दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भनेर केही सञ्चारमाध्यमले कपोलकल्पित समाचार सम्प्रेषण गर्दै आएका थिए  ।

‘दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो । ’ प्रचण्डका प्रमुख स्वकिय सचिव महराले जारी गरेको वक्तब्यमा भनिएको छ, –‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’

यस्तो छ महराको वक्तब्य :

आदरणीय जनसमुदायहरु,

यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ । क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् ।

यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन् । दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ । यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो ।

कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पक्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं । यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस