भारतमा हुने सीमा समन्वय बैठकमा सहभागी हुन मोरङ प्रशासनलाई अनुमति

द्दिपक्षिय कुनै पनि सम्झौता नगर्न र बैठकको प्रतिवेदन मन्त्रालयमा पठाउन निर्देशन

सफल खबर संवाददाता

बुधबार, १६ बैशाख २०८३, ०९ : १६
भारतमा हुने सीमा समन्वय बैठकमा सहभागी हुन मोरङ प्रशासनलाई अनुमति

काठमाडौं । गृह मन्त्रालयले भारतको बिहार राज्यको अररिया जिल्लामा हुने सीमावर्ती जिल्ला समन्वय समिति Border District Coordination Committee (BDCC) को बैठकमा सहभागीता जनाउन मोरङ जिल्ला प्रशासनलाई अनुमाति दिएको छ । 

उक्त बैठक आज बस्दैछ । बैठक बिहार राज्यको अररिया जिल्लाको जोगबनीस्थित एकीकृत जाँच चौकी (ICP) मा आयोजना हुँदैछ। जिल्ला प्रशासन कार्यालय मोरङले अनुमतिका लागि गृहलाइ पत्र पठाएपछि गृहले अनुमति दिएको हो । उक्त बैठकमा सहभागी हुन नेपाली सेना बाहेकका सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनिक अधिकारीहरूलाई गृहले स्वीकृति प्रदान गरेको हो।

गृहले दिएको स्वीकृत पत्रमा जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा निर्धारित मितिमा बैठकमा सहभागिता जनाउन अनुमति दिइएको उल्लेख छ। यद्यपि, उक्त अनुमति केवल बैठकमा उपस्थित भई समन्वय र छलफलमा भाग लिनका लागि मात्रै भएको छ । 

त्यहाँ नेपाली पक्षले कुनै पनि द्दिपक्षिय सम्झौता गर्न नपाउने र बैठकमा भएका छलफलका विषयहरुलाई प्रतिवेदन बनाएर गृह मन्त्रालयमा पठाउन पनि बैठकमा सहभागी हुने मोरङ जिल्ला प्रशासनलाई निर्देशन गरिएको छ । 

यस्ता अन्तरदेशीय समन्वय बैठकहरूमा प्रतिनिधिहरूले सीमा सुरक्षा, आवागमन व्यवस्थापन तथा आपसी सहकार्यका विषयमा छलफल गर्ने गर्दछन्। तर, नीतिगत वा औपचारिक निर्णय गर्ने अधिकार भने उच्च तहको स्वीकृतिमा निर्भर रहने प्रचलन छ।

प्रतिक्रिया दिनुहोस