सप्तरी १ का निर्वाचित सांसदले दिए गुपचुप राजीनामा

केन्द्रमा अब दुई क्षेत्र रिक्त, अर्काे ब्यक्तिलाई सांसद बनाउन पैसामा आर्थिक चलखेल भएको हुनसक्ने आशंका

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, ०८ : ५५
सप्तरी १ का निर्वाचित सांसदले दिए गुपचुप राजीनामा

काठमाडौं । प्रतिनिधीसभाका एक सांसदले आफनो पदबाट राजीनामा दिएका छन् । सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद सूर्यनारायण यादवले राजीनामा दिएका छन् । उनले सोमबार सभामुख महरालाई राजीनामा बुझाएका हु्न् ।

सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका उनले आफ्नो स्वास्थ्यमा समस्या देखिएकोले पदमा रहेर काम गर्न नसकेकोले राजीनामा दिएको उल्लेख गरेका छन् । ‘मलाई डाइबिटिज लगायत समस्या थियो । पछिल्लो समय स्ट्रेस पनि बढिरहेको थियो,’ सांसद यादवले भने, ‘त्यसैले आराम गर्न पदबाट राजीनामा दिएको हुँ ।’ 

यादवले पदबाट राजीनामा दिएपनि उनको राजीनामाभित्र अन्य ब्यक्तिलाई उपचुनावमार्फत सांसदमा लैजाने चलखेलका आधारमा राजीनामा आएको हुन सक्ने अनुमान लगाईएको छ । निर्वाचन आयोगले केन्द्रमा १ , प्रदेशमा ३ सहित का रिक्त रहेका जनप्रतिनिधीका लागि मंसिर १४ मा उपचुनाव गराउने तयारी गरिरहेका बेला यादवको एक्कासी राजीनामा आएको हो ।

यादव सप्तरीमा नाम चलेका डाक्टर पनि हुन् । यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ । त्यसपछि पुनः चुनाव गराउनुपर्छ । हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ । कास्की २ का सांसद रविन्द्र अधिकारीको गत फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको हो । 

प्रतिक्रिया दिनुहोस