कांग्रेस महामन्त्री एकाएक किन उडे थाइल्यान्ड ?

पार्टीका दुवै महासचिव, प्रवक्ता सहित कांग्रेसका अन्य एक दर्जन नेताहरु पनि विदेशमै

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, ०८ : १६
कांग्रेस महामन्त्री एकाएक किन उडे थाइल्यान्ड ?

काठमाडौं । कांग्रेस महामन्त्री डा शसांक कोइराला एकाएक थाइल्याड भ्रमणमा निस्केका छन् । पार्टी केन्द्रीय समिति बैठक चल्दै गर्दा डा शसांक एक साताका लागि नीजि पारिवारिक भ्रमणका लागि भन्दै श्रीमती र छोरीसहित थाइल्याण्ड पुगेका हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहपनि पारिवारिक भ्रमणका लागि थाइल्याण्डमै रहेका बेला डा शसांक कोइराला पनि पारिवारिक भ्रमणका लागि थाइल्याण्ड पुगेका हुन् ।

हिन्दु राज्यको वकालत गर्दै आएका डा शसांक र पूर्व राजा ज्ञानेन्द्रका बीचमा थाइल्याण्डमा भेटवार्ता हुन लागेको स्रोतको भनाई छ । ज्ञानेन्द्र एक महिना लामो बसाईका लागि भन्दै गएको साता नै थाइल्याड प्रस्थान गरेका थिए ।

हिन्दुराज्य र संवैधानिक राजतन्त्रको विषयमा जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका कांग्रेस महामन्त्री डा. शसांकले पूर्व राजालाई त्यहा भेट गरे भने त्यो नेपालको राजनीतिका लागि अर्थपूर्ण हुने विश्लेषण हुन थालेको छ ।

पछिल्ला दिनमा पूर्व राजाको गतिविधि बढ्दै जानु, सरकारकै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पार्टी निर्णय बिनै शंकास्पद रुपमा निर्मल निवासै पुगेर पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्नु, नेपाललाई हिन्दु राज्य बनाउन भारतीय पक्षको दबाब बढरहेका बेला हिन्दु राज्यको वकालत गदै आएका कांग्रेस महामन्त्रीले पूर्व राजा ज्ञानेन्द्र परिवार थाइल्याण्डमै रहेका बेला एकाएक त्यहीको भ्रमण योजना बनाउनुले शंका जन्माईदिएको छ ।

कतै थाइल्याण्डमा नेपालको राजनीतिक परिवर्तनका विरुद्ध कुनै खिचडी त पाक्दैछैन भन्ने आशंका भने जन्माईदिएको छ ।

कांग्रेसका अन्य नेताहरु पनि विदेशमै
महामन्त्री डा शसांक मात्र होइन, कांग्रेसका अन्य नेताहरु पनि यतिबेला विदेश सयरमा छन् । पार्टी बैठक चलिरहेकै बेला पार्टीका दुवै महामन्त्री, प्रवक्ता सहितका झण्डै एक दर्जन नेताहरु विदेश सयरमा रहेका हुन् ।

धेरै नेताहरु बैंकक, दुवई र लिस्वन भ्रमणमा पुगेका छन् । डा शसांक थाइल्याड, अर्का महामन्त्री पूर्णबहादुर खड्का संयुक्त अरब इमिरेट्स,  केन्द्रीय सदस्य डा. शेखर कोइराला लगायत नेताहरु दुवई, प्रवक्ता विश्वप्रकाश शर्मा पोर्चुगल र केन्द्रीय सदस्य कल्याण गुरुङ अमेरिकाको भ्रमणमा छन् ।

महामन्त्री खड्का नेपाली जनसम्पर्क समिति युएईको अधिवेशनबाट निर्वाचितहरुलाई स्वागत र बधाइ दिनका लागि त्यहाँ पुगेका हुन् ।

उनको अन्य खाडी मुलुकमा पनि भ्रमण हुने कांग्रेसले जनाएको छ । खड्कासँगै उमेशजंग रायमाझी पनि सँगै छन् ।

डा. शेखर, पूर्वसांसद रामहरि खतिवडा, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, नेविसंघका पूर्वमहामन्त्री धादिङ जिल्ला सभापति रमेश धमला, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईं, युवा नेता अतुल कोइराला सहितको टोलीले विश्वको अग्लो टावर बुर्ज खलिफा, पूर्ण सफारी पार्क लगायतको घुमघाममा आफुलाई सरिक गराईरहेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्मा पोर्चुगलको राजधानी लिस्वन पुगेका छन् । नेपाली जनसम्पर्क समिति साईप्रसको कार्यक्रममा सहभागी भई नेता शर्मा आइतबार राति पोर्चुगल पुगेका हुन् । तीन दिने पोर्चुगल बसाइपछि शर्मा जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ जाने भएका छन् । शर्मा डेनमार्कबाट जर्मन र नर्वे समेत पुगेर फर्किने गरी यूरोप भ्रमणमा निस्केका हुन् । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही पनि आइतबार नै पोर्चुगल पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस