मिडिया विद्येयकमा ओली, प्रचण्ड र देउवाबीच छलफल हुने

आवश्यक संसोधनमा शीर्ष नेतृत्वमा समझदारी बनाई विद्येयक अगाडी बढाउने तयारी

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, ०७ : ३४
मिडिया विद्येयकमा ओली, प्रचण्ड र देउवाबीच छलफल हुने

काठमाडौं । संसदको राष्टिय सभामा दर्ता भई स्थगित भई बसेको मिडिया काउन्सिल विद्येयक कसरी प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वको छलफल पछि अगाडी बढाउने तयारी भएको छ । राष्टिय सभा अध्यक्ष गणेश तिमल्सिनाको सहजीकरणमा सोमबार भएको सरोकारवाला पक्षहरुको बैठकमा प्रमुख तीन नेताको छलफल पछि विद्येयकका केही प्रावधान परिमार्जन गरी अगाडी बढाउने विषयमा छलफल भएको थियो ।

विद्येयकमा काउन्सिल गठन देखि दण्ड जरिवाना लगायतका विषयमा नेपाल पत्रकार महासंघ लगायत प्रेस स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रता पक्षधरहरुले आपत्ति जनाउदै आएका थिए ।

पत्रकार महासंघ लगायत संघ सस्थाले विद्येयकको विरोधमा चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले विद्येयक संसदमा स्थगित अवस्थामा राखेको थियो ।

त्यसपछि सरकारले सरोकारवालाहरुसँगको छलफल र परामर्शका आधारमा विद्येयकमा संसोधन गर्ने प्रतिबद्धता जनाएको थियो । सोमबार सिंहदरबारमा भएको महासंघका प्रतिनिधीसहितको छलफलमा प्रमुख तीन नेता प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाका बीचमा छलफल गरेर ठोस परिमार्जनमा सहमति खोजिने विषयमा छलफल भएको थियो ।

बैठकमा राष्टिय सभामा सत्तापक्षका नेताहरु दिनानाथ शर्मा, खिमलाल भटट्राई, कांग्रेस का राष्टिय सभा नेता सुरेन्द्र पाण्डे, सञ्चारमन्त्री गोकुल बास्कोटा लगायत पत्रकार महासंघका नेताहरुको सहभागिता रहेको थियो ।

अब ओली, प्रचण्ड र देउवाका बीचमा आज भोलि तिरै छलफल हुने र विद्येयक अगाडी बढाउने समझदारी भएको छ । 

प्रतिक्रिया दिनुहोस