आज गृहकार्य, भोलि सचिवालय बैठक

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, ०७ : २८
आज गृहकार्य, भोलि सचिवालय बैठक

काठमाडौ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक एक दिनका लागि पछि धकेलिएको छ । आज बस्ने भनिएको बैठक भोलि सम्मका लागि स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचार गरी २५ साउनमा फर्किने र त्यसपछि दुई अध्यक्षले गृहकार्य गरी २८ साउनमा सचिवालय बैठक बस्ने निधो १३ साउनको सचिवालय बैठकले गरेको थियो । तर प्रधानमन्त्रीको सिंगापुर बसाई तीन दिन पछि धकेलिएर हिजो सोमबार मात्र स्वदेश फर्केपछि गृहकार्यको समय नभएको हो ।

१३ साउनको सचिवालयको बैठकले कार्यविभाजन गर्न बाँकी केन्द्रीय सदस्यहरुको रुची बुझेर सुचि बनाउन र त्यही आधारमा कार्यविभाजनको परिमार्जित प्रस्ताव बनाउन महासचिव विष्णु पौडेललाई निर्देशन दिएको थियो ।

त्यही निर्देशन पछि अध्यक्ष प्रचण्ड दुबईको पारिवारिक भ्रमण र प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीको सिंगापुर स्वास्थ्य उपचार भ्रमण भएको थियो । त्यही बीचमा महासचिव पौडेलले भने केन्द्रीय नेताहरुलाई प्रत्यक्ष भेटघाट र टोलिफोनमार्फत काम गर्न चाहेको क्षेत्र र रुचीका विषयमा धारणा बुझ्ने काम गरेका थिए ।

महासचिव पौडेलले यसरी तयार पारेको परिमार्जित कार्यविभाजन प्रस्तावमा अध्यक्षद्धय प्रचण्ड र ओलीले छलफल गर्ने समय पाएका थिएनन् । जसकाकारण पनि आज दुई अध्यक्षका बीचमा महासचिवसहित बसेर गृहकार्य गर्ने र परिमार्जित प्रस्ताव बनाउने त्यसपछि सचिवालय बैठक बस्ने गरी बैठकलाई एक दिन पछि सारेको हो ।

‘केही गृहकार्य बाँकी छ, दुई अध्यक्षले गृहकार्य गर्नुहुन्छ आज र भोलि (वुधबार) सचिवालय बैठक बस्छ,’ महासचिव पौडेलले भने ।

नेकपामा १६६ जना केन्द्रीय नेताको कार्यविभाजन गर्न बाँकी छ । ४४१ सदस्य मध्ये अन्य ६० प्रतिशतलाई भूगोल र ४० प्रतिशतलाई विभागिय जिम्मेवारीको काम दिने गरी विधान बनेको थियो । त्यही आधारमा भूगोलको जिम्मेवारी करिब सकिएको र अब विभागिय जिम्मेवारीका लागि राखिएका नेताहरुको कार्यविभाजन बाँकी रहेको छ । ति नेताहरुलाई उसले पार्टीका ३२ केन्द्रीय विभाग, एउटा नीति अध्ययन प्रतिष्ठान, उपत्यका विशेष प्रदेश, त्यस अन्र्तगतका जिल्ला, सम्र्पक कमिटि, प्रवास कमिटि र २२ ओटा जनवर्गीय संगठनको फ्याक्सन इन्चार्जको जिम्मेवारी दिने तयारी गरेको छ ।

अधिकाशं नेताका रुची संगठन र स्कुलिङ
कार्यविभाजन बाँकी रहेका अधिकाशं नेताहरुले पार्टी संगठन विभाग र स्कुल विभाग रोजेका छन् । स्कुल विभागका लागि पार्टी सचिवालयकै सदस्यहरु प्रवक्ता नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलको दाबी यथावत रहदा विवाद मिलाउन नसक्दा कार्यविभाजन प्रक्रिया नै प्रभावित बनिरहेका बेला धेरै जसो नेताहरुले सचिवालयलाई अनुगमन र मनोटरिङ गराउने र स्थायी समिति र त्यसभन्दा तल्लो केन्द्रीय कमिटिबाट नेतृत्व दिने गरी विभागिय जिम्मेवारी दिनुपर्ने सुझाब महासचिव पौडेललाई दिएका छन् ।

महासचिव पौडेलले नेताहरुको रुची बुझ्ने क्रममा नेताहरुको त्यस्तो धारणा आएको पौडेल निकट स्रोतले बतायो । स्कुल विभागको नेतृत्वका लागि विवाद सचिवालयमै नमिलरहेका बेला स्थायी समिति सदस्यहरु घनश्याभ भुषाल, बेदुराम भुषाल, राम कार्की, देवेन्द्र पौडेल, युवराज ज्ञवाली लगायत नेताहरुले पनि स्कुल विभागको नेतृत्वको दाबी महासचिव पौडेलसँग गरेका छन् ।

पार्टीमा अहिले आकर्षणमा रहेको स्कुल विभागमा नेतृत्वमै विवाद बढेपछि स्थायी समिति सदस्यहरुले पनि उक्त विभागको रुची देखाएका हुन् । त्यस्तै अर्काे आकर्षक विभागका रुपमा रहेको संगठन विभागमा पनि नेताहरुको रुची देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस