बेपत्ता यात्रु खोज्न पाँच जिल्लाका प्रहरी परिचालन

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, १७ : ५४
बेपत्ता यात्रु खोज्न पाँच जिल्लाका प्रहरी परिचालन

चितवन । त्रिशूली बस दुर्घटनामा बेपत्ता भएका यात्रु खोज्न पाँच जिल्लाका प्रहरी परिचालन गरिएको छ ।  पृथ्वीराजमार्गको बेनिघाट रोराङ–३ स्थित मालिङ्गामा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता यात्रुहरुको खोजी गर्न धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासी गरी पाँच जिल्लाका प्रहरी परिचालन भएका हुन् । 

बेपत्ता यात्रुको खोजी प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीमा बग्ने अन्य जिल्लाका सुरक्षा निकायका अधिकारीसँग समन्वय गरी प्रहरी परिचालनको लागि आग्रह गरेको थियो । 

धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अगुवाइमा धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासी पुगेर सुरक्षा प्रमुखहरुलाई भेट गरि बेपत्ताको खोजी गर्न आग्रह गरिएको हो । 

बेपत्ता यात्रुहरु मध्ये सर्लाही घर भएका सर्वोच्च अदालतका अधिवक्ता ६२ वर्षीय अवधेस सिंहका भाई प्राध्यापक मुकेश सिंहले राजमार्गमा बारम्बार भइरहने सडक सुरक्षामा राज्यले प्रभावकारी नीति अपनाउन नसकेको बताए ।

अत्यधिक बाढी आएको समय परेकोले बगाएका सामान र शवहरु धेरैजसो नवलपरासीको त्रिवेणी बाँधमा फेला पर्ने भएकाले त्यहाँ कुनै शव फेला परेमा जानकारी गराउन  धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए ।

आइतबार मात्रै उक्त बाँधको भारततर्फको १७ नम्बर गेटमा शव देखिएपछि सोमबार मात्रै झिक्न पहल गरिएको छ । बगाएका सामानहरु तैरिने त्रिशुली नदीका सबै सम्भावित भुमरी परेका बिभिन्न स्थानहरुमा प्रहरीको निगरानी पनि बढाइएको छ ।

गत शुक्रबार सर्लाहीको मलंगवामा चालकसहित ४५ जना यात्रु बोकेर आएको ना ६ ख ७४६९ नम्बरको बस धादिङको सलाङ्घाटबाट त्रिशूली नदीमा खसेको थियो । हालसम्म मृत्यु भएका ११ जनाको शव मात्र फेला परेको छ । 
दुर्घटनाका घाइतेहरुको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस