अवैध चल्ला भित्रिने क्रम बढ्यो, सिमित जनशक्तिको भरमा क्वारेन्टाईन

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, १७ : ४०
अवैध चल्ला भित्रिने क्रम बढ्यो, सिमित जनशक्तिको भरमा क्वारेन्टाईन

चितवन । पशु क्वारेन्टाईन कार्यालय रामनगरले पशुपंछी चेकजाँच कार्यलाई तीब्र पारेको छ । 
चाडपर्वको सिजन आएको र यो बेला अवैध रुपमा भारतीय चल्ला तथा खसीबोका आयात हुन सक्ने भन्दै त्यसको चेकजाच तीब्र पारेको कार्यालयका प्रमुख रामकिसोर शाहले बताउनु भयो । पछिल्ला दिनमा अवैध रुपमा चल्लाहरु आउने क्रम तीब्र भएको र यात्रुवाहक बसमा समेत राखेर चल्लाहरु चितवन भित्र्याउने क्रम तीब्र पारिएकाले आफूहरु हरेक समय चनाखो रहेर निगरानी गरिरहेको उहाँको  भनाइ छ । उहाँले अवैध रुपमा भित्र्याइएका चल्लाहरुलाई नियन्त्रणमा लिएर नष्ट गरिएको बताउनु भयो ।
पशुपंछीहरु ढुवानी गर्दा यातना हुने कार्यहरु, नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाँध्ने, क्षमता भन्दा बढी पशु राख्ने, साना र ठुला पशुहरु एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता कार्यहरु बन्द गर्न उहाँले सबैमा आग्रह गर्नु भयो ।
रोगी, घाइते वा मरेका पशुहरुलाई ब्यावसायिक प्रयोजनका लागि ढुवानी गर्ने कार्य नगर्न, सवारी साधनको छत वा डिक्कीमा राखी ढुवानी नगर्न उहाँको आग्रह छ । पशुपंछी ओसारपोसार गर्दा अनिवार्य रुपमा उत्पतिको प्रमाणपत्र, दर्तावाल पशु चिकित्सकबाट जारी गरिएको स्वास्थ्य प्रमाणपत्र साथमै राख्न पनि उहाँको आग्रह छ ।
कसैले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ तथा त्यसको नियमावली २०५६ को विपरीत पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्री निकासी पैठारी गरेमा ५० हजारसम्म जरिवाना हुने भएकाले सबै सचेत हुन उहाँको आग्रह छ । पशु ओसारपोसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाईन जाँच गराउन उहाँले आग्रह गर्नु भयो । सिमित जनशक्तिका भरमा चौबीसै घन्टा ड्यूटी गर्नु परेको उहाँले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस