राजनीती

वाम गठबन्धन कमल थापाका लागि पनि फलामको चिउरा !

सोमबार, १३ कार्तिक २०७४, १९ : २१
वाम गठबन्धन कमल थापाका लागि पनि फलामको चिउरा !

काठमाडौं । सरकारले मिति घोषणा गरे अनुसार दोस्रो चरणको प्रतिनिधि / प्रदेशसभा निर्वाचन आउन करिब ४० दिन बाँकी छ । यो अवधिमा मकवानपुरका नेता टिकटदेखि जित हात पार्न दौडधुपमा जुटिसकेका छन् ।
एमाले—माओवादी केन्द्रले वाम गठबन्धन बनाएर आसन्न निर्वाचनमा होमिएका छन् भने कांग्रेस राप्रपा लगायतका दलहरुलाई साथमा लिएर निर्वाचनमा होमिने कसरतमा छ । वामपन्थी गठवन्धन र कांग्रसको लोकतान्त्रिक गठवन्धन दुई दिशामा उभिएपछि यस पटकको निर्वाचनले रोमाञ्चक मोड लिने पक्कापक्की भएको छ ।

दलहरु गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने भएपछि देशकै मध्यभागमा पर्ने मकवानपुरमा पनि त्यको छिटा मज्जैले परेको छ ।
अहिले राप्रपा केन्द्रीय अध्यक्षसमेत रहेका उपप्रधान तथा उर्जा मन्त्री कमल थापा र कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डिनाको चर्चा बढी चलिरहेको छ ।

दुबै उम्मेदवार एकै गठबन्धनको भएपनि राष्ट्रिय राजनीतिमा भिजेका यी दुई नेताले देशैभर चर्चा बटुलिरहेका छन् ।

उता वाम गठबन्धनमा भने केही टिकट नपाएपछि सामाजिक सञ्जालमार्फत पीडा पोख्दै छन् भने कोहि केन्द्र धाउन व्यस्त छन् । तालमेलमा मकवानपुरमा एमालेलाई प्रतिनिधि र प्रदेशसभाका लागि २/२ क्षेत्र र माओवादी केन्द्रले प्रदेशसभामा २ क्षेत्रमै चित्त बुझाउन बाध्य भएको छ ।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट कमल थापा र २ बाट डिनालाई उमेदवार बनाउने निश्चित भएपनि प्रदेशसभाका उमेदवारको टुङ्गो लागेको छैन । वाम गठबन्धनमा पनि उस्तै समस्या देखिएको छ । आकांक्षीको संख्या धेरै भएपछि उमेदवार टुङ्ग्याउन समस्या भएको एमाले जिल्ला अध्यक्ष मुनु सिग्देलले बताइन् ।

वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट कृष्ण दाहाल र क्षेत्र नम्बर २ बाट बिरोध खतिवडा उमेदवार बन्ने लगभग निश्चित भइसकेको छ ।

त्यसैगरी प्रदेश सभाका लागि क्षेत्र नम्बर १ (क) मा माओवादी केन्द्रका जिल्ला नेता प्रेमबहादुर पुलामी छिन्तु, १ (ख) मा एमालेका डोरमणि पौडेल, २ (क) मा रामेश्वर राना र २ (ख) मा माओवादी केन्द्र जिल्ला इञ्चार्ज कुमारी मोक्तानको सम्भावना छ ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्ने सम्भावना बलियो बनाएका दाहाल जिल्लाको पुराना नेता हुन् । थापालाई यसअघि पटकपटक हराएका नेता दाहाल यसपालि पनि थापाको प्रतिद्वन्द्वीको रुपमा उभिने तरखरमा छन् ।

पूर्वसांसद समेत रहेका खतिवडा एमालेको केन्द्रीय राजनीतिमा तख्खल राख्ने जिल्ला नेताको रुपमा चिनिन्छ । प्रदेशसभा निर्वाचनका उमेदवार मध्ये पुलामी पूर्वसभासद हुन् । २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद हुन् ।

प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर १ (ख) बाट उमेदवार बन्ने पौडेल पूर्वमेयर हुन् । दुई पटक हेटौंडाको मेयर भइसकेका पौडेल जिल्लाको चिरपरिचित नेताको रुपमा लिइन्छ । २ (ख)बाट उमेदवार बन्ने मोक्तान २०६४ को निर्वाचनमा क्षेत्र नम्बर ४ बाट निर्वाचित सभासद हुन् । उनी माओवादी केन्द्रको जिल्ला इञ्चार्ज पनि हुन् ।

वाम गठबन्धन ३२ हजार मतले अगाडि

बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनअनुसार मकवानपुरमा वाम गठबन्धन नै अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रले पाएको मत अनुसार वाम गठबन्धन ३२ हजार १ सय २७ मतले अघि छ । हेटौंडा उपमहानगरपालिका सहित १० स्थानीय तहमा वाम गठबन्धनको १ लाख ४ हजार ७९ मत छ भने लोकतान्त्रिक गठबन्धनको ७१ हजार ९ सय ५९ रहेको छ ।

निर्वाचनमा जिल्लाभरबाट ५६ हजार ९ सय ९०, राप्रपाले १४ हजार ९ सय ६९, एमालेले ५८ हजार ४ सय ८६ र माओवादी केन्द्रले ४५ हजार ५ सय ९३ मत ल्याएको थियो । यो अनुपात अनुसार मूल्याङ्कन गर्दा बाम गठबन्धन धेरै नै बलियो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस