प्रचण्ड, बामदेव र विष्णु पौडेलकहाँ जिल्ला नेताहरुको डेलिगेशन

ओली पक्षले पार्टी विधान, नियमावली र अन्तरपार्टी निर्देशिका विपरित कमिटि गठन र परिचालन गर्न खोजेको आरोप

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०७६, ०८ : १५
प्रचण्ड, बामदेव र विष्णु पौडेलकहाँ जिल्ला नेताहरुको डेलिगेशन

काठमाडौं । जिल्ला कमिटि फर्मेसन गर्दा जिल्लाको नेतृत्व पाएका नेताले गुटगत आधारमा संगठनको कमिटिलाई पूर्णता दिन खोजेको भन्दै एउटा टोलीले नेकपा शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराएको छ ।

जिल्ला कमिटि फर्मेसन गर्दा पार्टी विधान, नियमावली र अन्तरपार्टी निर्देशिका विपरित जिल्ला कमिटिहरु गठन र परिचालन भएको भन्दै सुर्खेत र दैलेखका नेताहरुले पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतमलाई छुटाछुटै भेटी ध्यानाकर्षण गराएका हुन् ।

सुर्खेत, दैलेख लगायतका जिल्लामा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले एकलौटी ढंगले पार्टी विधान, नियमावली र अन्तरपार्टी निर्देशिका विपरित तल्ला कमिटिहरु गठन र परिचालन गर्न खोजेको डेलिगेशन जाने नेताहरुको भनाई छ । डेलिगेशन जाने नेताहरुमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु छन् ।
 ओली पक्षले कमिटि फर्मेसनका लागि पार्टी केन्द्रले बनाएर पठाएको मापदण्ड विपरित आफना मान्छेलाई राख्ने र इतर पक्षका नेतालाई हटाउने काम भएको उनीहरुको गुनासो छ ।  

उक्त टोलीले हिजो बिहिवार अध्यक्ष प्रचण्ड, महासचिव पौडेल र नेता बामदेव गरी तिनै जना शीर्ष नेतालाई अलग अलग भेट गरी जिल्लाका कमिटि गठन लगायतका विषयमा भईरहेको चलखेलका बारेमा ध्यानाकर्षण गराएका थिए । त्यसको पुष्टि नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सन्जालमा तस्वीर सहित सार्वजनिक गरेका थिए ।

रिजालले लेखेका थिए ,–
अध्यक्ष कमरेड प्रचण्ड, सचिवालय सदस्य क.वामदेव गौतम र महासचिव कमरेड विष्णु पौडेलसँग दैलेखका नेताहरूको महत्वपूर्ण छलफल भएको छ । पार्टी विधान, नियमावली र अन्तरपार्टी निर्देशन ४ बमोजिम पार्टीका तल्ला कमिटीहरू गठन र परिचालनमा नेतृत्व स्पष्ट नै छ ।

थपमा महासचिव कमरेडले निम्न कुरा स्पष्टताका साथ भन्नुभएको छ :

१. पार्टीको अपानि विपरीत कुनै कमिटीबाट साविकका सदस्यहरू हटाइएमा त्यो मान्य हुँदैन । पुराना सदस्यहरू रहिसकेपछि थप्नुपर्ने भएमा मात्र वरिष्ठताका आधारमा थप्न पाइन्छ ।

२. विधानले पार्टी सदस्यहरूलाई दुई कमिटीमा बस्ने अधिकार दिएको छ । स्वेच्छाले बाहेक कसैलाई जिल्ला कमिटीबाट हटाउन पाइँदैन ।

३. असहमतिमा त कुरै छाड्नूस, सहमतिमा पनि विधान र अपानि विपरीत कमिटीमा थपघट गर्न पाइँदैन । त्यस्ता ठाउँको रेकर्ड मगाइरहेको छु, अबिलम्ब खारेज हुन्छन् ।

डेलिगेशन पछि सफल खबरसँग कुरा गदै सहभागी एक नेताले भने, – पार्टी परिचालन लगायत सरकारका गतिविधिका विषयमा पनि नेताहरुसँग छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस